कांग्रेस बागमती प्रदेश संसदीय दलले दूरगामी असर गर्ने कुनै पनि निर्णय नगर्न मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई सचेत गराएको छ । सरकारबाट बाहिरिएको कांग्रेसको प्रदेश संसदीय दलको बैठकले अल्पमतमा रहेको सरकारलाई दीर्घकालीन असर पर्ने र संवैधानिक नियुक्ति नगर्न सचेत गराउने निर्णय गरेको हो ।
मंगलबार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले भने, ‘अब कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको छ । यस सन्दर्भमा हामीले सरकारलाई रचनात्मक सहयोग गर्ने हो । तर, कामचलाउ अवस्थाको सरकारले दीर्घकालीन असर पार्ने निर्णय नगरोस् भन्ने हाम्रो चाहना छ । सोहीअनुसार सरकारलाई सचेत गराउने निर्णय पनि गरेका छौँ ।’
उपनेता चित्रकारले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएर निकास नदिउन्जेलसम्म कांग्रेस अर्को समीकरण बनाएर सरकार बनाउने क्रियाकलापमा पनि नलाग्ने प्रस्ट पारे । मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी पाएको भन्दै उनले विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा पेस गर्ने समयसम्म वा राजीनामा नआउन्जेलसम्म कांग्रेस अर्को सरकार बनाउने खेलमा नलाग्ने बताए । ‘न मुख्यमन्त्रीले राजीनामा दिनुभएको छ, न उहाँले विश्वासको मत लिने विषय सदनमा प्रस्ताव आएको छ ।
हामीले मुख्यमन्त्रीले विश्वासको मत लिने भन्ने सुनेका मात्रै छौँ । त्यसकारण तत्काल कांग्रेस अर्को सरकार बनाउने पहल गर्दैन,’ उनले भने । ३७ सांसद रहेको कांग्रेस बागमती प्रदेशमा सबैभन्दा ठूलो दल हो । ११० जना प्रदेश सदस्य रहेको बागमती प्रदेशमा सरकार बनाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ ।