महिलाका मुद्दामा सशक्त ढंगले कलम चलाउन जोड

बुधबार, २३ फागुन, २०८०
डिजिटल संस्करण

पत्रकारिता तथा आमसञ्चार क्षेत्रका अग्रजहरूले महिलाका मुद्दामा सशक्त ढंगले कलम चलाउनुपर्नेमा जोड दिएका छन् । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला विभागद्वारा मंगलबार आयोजित ‘लैंगिकताका सवालमा नेपाली मिडिया विषयक’ अन्तक्र्रियामा महिलाका हकअधिकार सुनिश्चित गर्न सञ्चारकर्मीले काम गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

महासंघका सल्लाहकार निर्मला शर्माले लैंगिकताका सवाल सहभागिता र विषयवस्तुका आधारमा विश्लेषण गर्नुपर्ने बताउँदै महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न महिलामा दक्षता तथा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् । ‘संख्यात्मक रूपमा महिलाको सहभागिता अभिवृद्धि हुने क्रम रहे पनि सहभागितासँगै नेतृत्वदायी भूमिका निर्वाह गर्न महिलाले आफ्नो क्षमता विकासमा जोड दिनुपर्छ,’ उनले भनिन्, ‘महिला स्वयं सञ्चार क्षेत्रमा रहिरहँदा लैंगिकताका सवाल उठान गर्नमा महत्वपूर्ण भूमिका रहन्छ ।’ 

हिमालय टाइम्सका पूर्वसम्पादक पुरुषोत्तम दाहालले महिलामाथि हुने हिंसा रोक्न गर्न सबै पक्षले ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिए । उनले महिला मात्र नभई पुरुषलाई पनि सचेत गराउनुपर्ने बताए । सञ्चार जगत्लाई व्यावसायिक, मर्यादित बनाउन दिगो योजना चाहिने उनले बताए । सञ्चारकर्मी कल्पना शर्माले मिडिया क्षेत्रमा आबद्ध महिलाको अवस्थाबारे गहिरो विश्लेषण गर्न जरुरी भएको बताइन् । आफ्नो क्षमताअनुरूप अधिकार प्राप्तिको लडाइँमा पछि हट्न नहुने उनको भनाइ थियो ।

See More On

सुझावित समाचार