बागमती प्रदेशमा गहिरियो राजनीतिक संकट : कांग्रेसका मन्त्रीले आजै राजीनामा दिने

बुधबार, २३ फागुन, २०८०
डिजिटल संस्करण

केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर बागमती प्रदेशमा पनि परेको छ । प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले सरकार छाेड्ने भएका छन् । प्रदेशमा कांग्रेसका ६ जना मन्त्री रहेका छन् ।कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आजै कांग्रेसबाट बागमती सरकारमा रहेका सबैजना मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाउने जानकारी दिए ।

‘म अहिले काठमाडौंमा छु । हाम्रो संसदीय दलको नेता पनि युरोप भ्रमणबाट आज आउँदै हुनुहुन्छ । हामी प्रदेश सरकारमा रहेका कांग्रेसका सबै मन्त्रीले सामूहिक राजीनामा बुझाउने भएका छौँ । र, राजीनामा आजै बुझाउँछौँ,’ उनले भने । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीसमेत रहेका उपनेता चित्रकारले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताए । 

उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने र सफल भए कांग्रेस प्रतिपक्षमा बस्ने बताए । अन्यथा बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने उनको भनाइ छ  । मन्त्री चित्रकारका अनुसार राजधानी हेटौँडाबाहिर रहेका कांग्रेसका मन्त्रीहरू हेटौँडा फर्कँदै छन् । उनले आफू पनि हेटौँडा आउने तयारीमा रहेको बताए ।

यता बदलिएको राजानीतिक अवस्थाको विषयमा केन्द्रीय नेतृत्वसँग छलफल गर्न प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि काठमाडौं पुगेका थिए । उनी पनि अहिले हेटौँडा फर्किँदै गरेको बुझिएको छ ।  

सुझावित समाचार