विवादमा एन्फा साधारणसभा

कार्यसमितिका १३ सदस्य, बी डिभिजनका पदाधिकारीसँगै जिल्ला संघका प्रतिनिधिहरूले साधारणसभा बहिष्कार गरे

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित कार्यसमिति १३ सदस्य तथा सहिद स्मारक ‘बी’ डिभिजन लिगसहित अधिकांश सदस्यले बहिष्कार गरेको नियमित साधारणसभामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ निर्णय गरेको छ । शंखमूलमा सोमबार भएको साधारण सभामा कार्यसमितिको निर्णयविना दुई एजेन्डा थपेको भन्दै कार्यसमितिका बहुमत १३ सदस्यले असन्तुष्टि जनाएका थिए ।

उनीहरूले थप गरेको एजेन्डा हटाउन आग्रह गरेका थिए । तर, संस्थापन पक्ष पूर्ववत् निर्णयबाट पछाडि नहट्दा बन्द सत्र नै दुई घन्टासम्म पनि सुरु भएन । त्यसछि एन्फा अध्यक्ष पंकव नेम्वाङले वरिष्ठ उपाध्यक्षसहित १३ सदस्यको अनुपस्थितिमै रोलक्रमअनुसार साधारणसभा अगाडि बढाए । असन्तुष्ट पक्षले लेखापरीक्षण प्रतिवेदन पास गर्ने, आर्थिक नियमावली र कार्यविधि पास गर्ने एजेन्डालाई विरोध गरेका थिए । 

२१ सदस्यीय रहेको एन्फा कार्यसमितिका उपाध्यक्ष दावा लामा बैठकमा सहभागी भएनन् । उनी लागुऔषध कारोबारमा दोषी ठहरिएपछि फरार छन् । एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले संस्थापन पक्षले आफूखुसी निर्णय नगर्न र समस्याको समाधान खोज्न आग्रह गरेका छन् । कार्यसमितिबाट निर्णय नै नभएको एजेन्डामा समावेश गरेपछि उनी पनि रोलक्रममा सहभागी नभईकनै बाहिरिएका थिए । ‘कार्यसमिति बैठक चार–पाँच दिन चल्दा जम्मा चार निर्णय भए, तर साधारणसभामा ६ एजेन्डा समावेश गरेको छ, बहुमत सदस्यले साधारणसभा बहिष्कार गरेका छन्,’ शेर्पाले भने, ‘अहिले कागज मिलाउने कि फुटबल मिलाउने भन्ने पक्ष हो । उहाँहरूसँग कुनै जवाफ छैन ।’

साधारणसभामा बी डिभिजन लिगका प्रतिनिधिसमेत सहभागी भएका थिएनन् । शेर्पाले साधारणसभा छाडेपछि बी डिभिजन क्लब र जिल्ला सदस्यले हल छाडेका थिए । शेर्पाले वर्तमान एन्फामा ठूलो भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् । ‘आर्थिक घोटाला ब्यापक भएको छ । शून्य समयमा छलफल गरौँ भन्दा जबर्जस्ती रोलक्रम भयो । साधारणसभा वर्षमा एकपटक गर्ने हो,’ आरोप लगाउँदै उनले भने, ‘फुटबल गर्न कन्ट्रोरोल फन्डिङको कुरा गरेर टारिन्छ । तर, प्रत्येक महिना साधारणसभा गर्न खर्च तयार छ । करोडौँ खर्च भ्रष्टाचार भएको छ ।’ 

उनले शीर्ष डिभिजनको र जिल्ला लिगसमेत एन्फाले गर्न नसकेको आरोप लगाए । एन्फा प्रवक्ता सुरेश शाहले ७७ मध्ये ७४ सदस्य साधारणसभामा सहभागी भएको दाबी गरेका छन् । एन्फाको भोटिङ राइट एक सय पाँचजना मात्र हो । प्रवक्ता शाहले कार्यसमितिबाट निर्णय भएको एजेन्डा नै साधारणसभामा प्रस्तुत गरेको दाबी गरे । ‘पदाधिकारी साथीहरू किन आउनुभएन थाहा छैन । तर, उहाँहरू आएर बजेट समीक्षा गर्नुपथ्र्यो,’ उनले भने, ‘नयाँ योजना अनुमोदन गर्ने एजेन्डा थियो । यो कार्यसमितिबाट प्रक्रिया नै छलफल भएर आइसकेको हो ।’ कार्यसमिति सदस्य अनिल मल्लले साधारणसभा विधानवपरीत रहेको र आगामी कार्यसमितिमा यही विषय उठ्ने बताए । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन गरेका थिए । उनले फुटबल विकासको विषयमा एन्फामा बहस हुनुपर्ने बताए । 

क्यालेन्डरमा ए डिभिजननै समेटिएन
एन्फाले वर्षभरिको क्यालेन्डर सार्वजनिक गरेपछि ए डिभिजन लिग नै समेटिएको छैन । यस अर्थमा यस वर्ष ‘ए’ डिभिजन लिग एन्फाले नगर्ने भएको छ । गत वर्ष सहिद स्मारक ए डिभिजन लिग आयोजना भए पनि बी र सी डिभिजन लिग हुन सकेन । एन्फाले रेलिगेसनमा परेको एपिएफ र थ्री स्टारबीच चर्केको विवाद मिलाउन सकेको छैन । एन्फाले लिग ०८१ सालको पुसमा हुने घोषणा गरेको छ । एन्फाले सार्वजनिक गरेको कार्यक्रममा घरेलु प्रतियोगिताभन्दा पनि एएफसी र फिफा तथा साफले आयोजना गर्ने प्रतियोगिता समावेश छन् । यसैबीच, एनफाले ०८१ को बजेटका आधारमा ६७ करोड ६६ लाख ६० रुपैयाँ पुर्‍याएको छ । 

See More On

सुझावित समाचार