दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ।
तेस्रोपटक थपेको म्याद यही फागुन १२ गते सकिँदै छ। पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नुनपर्ने भएको हो।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रोपटक सडक बन्द गरेर काम गरिएको हो।
कुल ६३ दिनमा माघे संक्रान्तिमा दुई दिनमा अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको हो। त्यहाँको ढिस्को भत्काउने काम अब तीन मिटर मात्रै बाँकी छ।
फागुन १२ गतेसम्म थप एक मिटर भत्काउन सकिने अनुमान छ। अबको काम निकै कडा भएकाले समय लाग्ने देखिएको छ। बाँकी दुई मिटर सडक नरोकेरै भत्काउन मिल्ने उनको भनाइ छ। पुलको जगको काम अघि बढाउन मिल्ने भएकाले समयअनुकूल मिलाएर बाँकी ढिस्को भत्काइने उहाँले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले माग गरेको समय सकिएकाले अब सडक नरोकेरै काम गर्न भनिएको बताए। ढिस्को होचो मात्रै बाँकी रहेकाले हेरेर काम गर्न मिल्ने उनको भनाइ छ।
त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो। गत साल २५ मिटर तल झारिएको थियो। बाँकी ३५ मिटर यो वर्ष भत्काउन सुरु गरिएको हो।
गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो। विस्फोट गर्दा पुलसमेत भत्कन सक्ने भएकाले पुनः एकपटक भत्काउने प्रयास गरिएको हो। सो सडकका १९ वटा पुलमध्ये चारवटा पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो।
२०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो। पुलको लागत रु. एक अर्ब २८ करोड छ। अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो। यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो। पुल ११ मिटर चौडा छन्।
सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ। राजधानीबाट बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्।