पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा किसानले लगाए ताला

मंगलबार, १६ माघ, २०८०
डिजिटल संस्करण

किसानले झेल्दै आएको ‘मिल्क होलिडे’ र दिँदै आएको अनुदान कटौती गरिएको विषयमा प्रदेश सरकारले चासो नदेखाएको भन्दै बागमती प्रदेशका दुग्ध उत्पादक किसानले मंगलबार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौँडामा तालाबन्दी गरेका छन्।

उनीहरूले मिल्क होलिडे अन्त्यका लागि प्रदेश सरकारले चासो नदिएको आरोप लगाउँदै तालाबन्दी गरेका हुन्। यसैगरी दुग्ध उत्पादक किसानलाई स्थानीय तहले अनुदान दिँदै आएको भन्दै दोहोरो अनुदान रोक्न प्रदेश सरकारले कार्यविधि बनाएर बजेटसमेत कटौती गरेपछि किसान आन्दोलित भएका हुन्।

यसअघि प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई अनुदानबापत ३० करोड रुपैयाँ विनियोजन गरेकोमा घटाएर पाँच करोड मात्रै छुट्याएको छ।

कतिपय स्थानीय तहले दुग्ध उत्पादक किसानका लागि अनुदानको व्यवस्था नगरेका कारण त्यस्ता किसान मारमा परेको उनीहरूको भनाइ छ। मकवानपुर र चितवनका विभिन्न पालिकाले किसानलाई दुग्ध उत्पादनबापत अनुदानको व्यवस्था गरेका छैनन्।

प्रदेश सरकारले पनि अनुदान रोक्ने र स्थानीय तहले पनि अनुदानको व्यवस्था नगरेका कारण किसान आन्दोलित हुन बाध्य भएको उनीहरूको भनाइ छ।

सुझावित समाचार