पेट्रोलियममा कालोबजारी तोकिएभन्दा दोब्बर मूल्यमा बिक्री

दिक्तेल बजारमा साढे दुई लिटरपेट्रोल चार सय ७० देखि सात सय रुपैयाँसम्ममा बिक्री

आइतबार, १४ माघ, २०८०
डिजिटल संस्करण
पेट्रोलियममा कालोबजारी तोकिएभन्दा दोब्बर मूल्यमा बिक्री

दिक्तेल बजारको रत्नपार्क, बेसक्याम्प, हाटडाँडालगायतका विभिन्न ठाउँमा खुद्रा पसलमा बिक्रिको लागि बोतलमा राखिएको पेट्रोलियम पदार्थ । तस्बिर : नयाँ पत्रिका

दश स्थानीय तह रहेको खोटाङमा एउटा मात्रै पेट्रोलपम्प सञ्चालनमा छ । दिक्तेल बजारनजिकै दिक्तेल–हलेसी सडकखण्डमा सञ्चालित हलेसी आयल ट्रेड एन्ड सप्लायर्समा नेपाल आयल निगमले तोकेको मूल्यमा नै पेट्रोल पाइन्छ । तर पेट्रोलपम्पबाट करिब पाँच सय मिटरयता (भोजपुरतर्फ) पर्ने दिक्तेल बजारका अधिकांश पसलमा अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री भइरहेको छ । नियमन गर्ने निकाय भने आँखा चिम्लिएर बसेका छन् । 

दिक्तेल बजारको रत्नपार्क, बेसक्याम्प, हाटडाँडालगायतका विभिन्न ठाउँमा खुद्रा पसलमा साढे दुई लिटरको बोतलमा पेट्रोल चार सय ७० देखि सात सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ । 

आयल निगमले तोेकेअनुसार दिक्तेलमा सञ्चालित पेट्रोलपम्पमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७१ रुपैयाँ ५० पैसा मात्रै छ । ‘व्यापारीहरूले दिनानुदिन अवैध रूपमा पेट्रोल बेच्छन् । कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्न कोही लागिपर्दैनन् । पेट्रोलपम्पबाट पेट्रोल ल्याएर तेब्बर मूल्य लिएर कालोबजारी गरिहेका छन्,’ एक उपभोक्ताले भने, ‘कतिपय बाहिरबाट आएका मानिसलाई पेट्रोलपम्प कहाँ छ भन्ने नै थाहा छैन । तर, जिल्लाकै उपभोक्ता पनि चर्को मूल्यमा खरिद गर्न बाध्य छन् ।’

जिल्लामा पर्याप्त पेट्रोलपम्प नहुनुले पनि व्यापारीहरूले त्यसको फाइदा उठाइरहेका छन् । ‘मध्यपहाडी लोकमार्गले छोएका कारण जिल्लामा सवारीसाधनको चाप बढिरहेको छ । मुलुकमा आएको सङ्घीयतासँगै गाउँ–गाउँमा सवारीसाधनको पहुँच बढ्दो अवस्थामा छ,’ स्रोतले भन्यो, ‘अझ गाउँघरमा त एक जम्बो तेल हाल्न सक्ने स्थिति नै छैन । गाउँ–गाउँमा अवैध तरिकाले पेट्रोल बिक्री भइरहेको छ । स्थानीय सरकारसमेत चुप लागेर बसेको छ ।’

पेट्रोलपम्पले सवारीसाधनमा भर्नेबाहेक खुला रूपमा बिक्री–वितरण गर्न मनाही गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारी पवित्रप्रकाश शाहले बताए । ‘उपभोक्ता ठगिएकोबारे अहिलेसम्म कुनै पनि गुनासो आएको छैन् । खुद्रा पसलका व्यापारीले बोतलमा पेट्रोल भरेर बिक्री–वितरण गरेका रहेछन् भने अनुगमन गरी कारबाही गर्छौँ,’ उनले भने, ‘पेट्रोलपम्पभन्दा बाहिर राखेर पेट्रोलियम पदार्थ बिक्री गर्नु नियमविपरीत हो । यदि त्यस्तो भएको पाइएमा सम्बन्धित व्यक्ति कारबाहीको भागीदार हुन्छन् ।’

दिक्तेल बजारसँगै जिल्लाका सबै स्थानीय तहका मुख्य बजारहरूमा समेत अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री–वितरण भइरहेको छ । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले सोही खुद्रा पसलमा अवैध रूपमा बिक्रीका लागि राखिएको पेट्रोलियम पदार्थ चर्को मूल्यमा खरिद गरेर प्रयोग गर्दै आएका छन् । पेट्रोलियम पदार्थ खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर–पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने जोखिम हुन्छ । उसो त, पेट्रोलपम्पबाट पनि खुला रूपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्वलनशील पदार्थ बिक्री–वितरण गर्न पाइँदैन । 

सुझावित समाचार