आयात ३ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घट्यो

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पहिलो ६ महिनाको वैदेशिक व्यापारले मन्दीको प्रभाव कायमै रहेको देखाएको छ । सो अवधिमा कुल वैदेशिक व्यापार (आयात–निर्यात) ३.४७ प्रतिशतले घटेर आठ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो व्यापार आठ खर्ब ७३ अर्ब ४७ करोड रहेको थियो । 

समीक्षा अवधिमा आयात ३ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । ६ महिनामा विभिन्न देशबाट सात खर्ब ६८ अर्ब १६ करोडबराबरको वस्तु आयात गरिएको छ भने ७४ अर्ब ९७ करोडबराबरको वस्तु निर्यात गरिएको छ । आयात र निर्यात दुवै खुम्चिएपछि वैदेशिक व्यापार घाटा पनि २.६२ प्रतिशतले घटेर ६ खर्ब ९३ अर्ब २० करोडमा भएको छ । गत वर्ष यही अवधिमा व्यापार घाटा सात खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।

 धेरै घाटा भारतसँग, नाफा अमेरिकासँग
नेपालको वैदेशिक व्यापारमा सबैभन्दा धेरै घाटा भारतसँग र सबैभन्दा धेरै नाफा अमेरिकासँग भएको देखिएको छ । भारतबाट ६ महिनामा चार खर्ब ७४ अर्ब ८९ करोडको वस्तु आयात हुँदा ५० अर्ब ४४ करोडको वस्तु मात्रै निर्यात भएको देखिन्छ । यसले व्यापार घाटा चार खर्ब २४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यस्तै, चीनसँग ६ महिनामा व्यापार घाटा एक खर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । विभागका अनुसार चीनबाट एक खर्ब ४७ अर्ब ४० करोडको वस्तु आयात हुँदा अत्यन्तै न्यून एक अर्ब ६६ करोडको मात्रै वस्तु निर्यात भएको छ । 

नेपालले सबैभन्दा धेरै नाफाको व्यापार भने अमेरिकासँग गरेको छ । ६ महिनामा अमेरिकासँग ७० करोड ३६ लाख रुपैयाँ व्यापार नाफा भएको छ । विभागका अनुसार अमेरिकाबाट सात अर्ब ६३ करोड ६३ लाखको वस्तु आयात हुँदा नेपालले आठ अर्ब ३३ करोड ९९ लाखको वस्तु निर्यात गरेको छ । 

 पौने दुई अर्बको सिमेन्ट निर्यात
नेपालको समग्र निर्यात उत्साहपूर्ण नहुँदा–नहुँदै पनि सिमेन्ट तथा क्लिंकर निर्यातले भने आशा जगाइरहेको छ । चालू वर्षको ६ महिनामा नेपालबाट एक अर्ब ७६ करोड ३३ लाख रुपैयाँबराबरको १६ लाख ७२ हजार तीन सय ६७ टन सिमेन्ट तथा क्लिंकर भारतीय सीमावर्ती क्षेत्रमा निर्यात भएको छ । जबकि, गत आर्थिक वर्षभरिमा करिब ७८ करोड रुपैयाँको मात्रै सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो ।

६ महिनामा ८७ करोड २१ लाख रुपैयाँबराबरको दुई लाख २२ हजार एक सय १७ टन अर्धप्रशोधित सिमेन्ट (क्लिंकर) र ८९ करोड १२ लाख रुपैयाँबराबरको १४ लाख ५० हजार दुई सय ५० टन तयारी सिमेन्ट निर्यात भएको छ ।सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई ८ प्रतिशतसम्म नगद अनुदान र १० करोड रुपैयाँभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेपछि सिमेन्ट निर्यातमा सकारात्मक प्रभाव देखिएको हो । ०७९ असारदेखि नेपाली सिमेन्ट भारततर्फ निर्यात सुरु भएको हो । छोटो अवधिमै सिमेन्ट निकासी उत्साहजनक हुँदा खस्कँदो निर्यात व्यापारमा आशा देखिएको छ ।

 पौने १३ अर्बको विद्युतीय कार आयात
नेपालमा विद्युतीय कारको बिक्री उत्साहप्रद देखिएको छ । ६ महिनामा विभिन्न देशबाट १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँको पाँच हजार एक सय सात विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । सबैभन्दा धेरै चीनबाट तीन हजार एक सय २१ र भारतबाट १९ सय २२ युनिट कार आयात गरिएको भन्सार विभागले जनाएको छ । यस्तै, इन्डोनेसियाबाट १७, साउथ कोरियाबाट ३९, जर्मनीबाट पाँच र अमेरिकाबाट तीनवटा विद्युतीय कार आयात भएका छन् ।  

सुझावित समाचार