इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ। केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो।
जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मंगलबार साँझदेखि नै हिउँ पर्न थालेको छ।
देउमाई नगरपालिकाको राँकेलगायत क्षेत्रमा हिउँ परेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ। हिमपातका कारण मेघमा, तुम्लिङ, टङ्लु, जौबारी, गैरीवास, फालुट क्षेत्रको जनजीवन प्रभावित भएको छ। बाक्लो हिमपातले गर्दा घरबाहिरको काम गर्न समस्या भएको स्थानीय लाक्पा शेर्पाले बताए।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथरमा पनि मंगलबारदेखि नै हिमपात भएको छ।