जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सार्कलाई क्रियाशील बनाउन राष्ट्रपतिको जोड

बुधबार, २५ पुष, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन्। 

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको सो शिष्टाचार भेटवार्तामा राष्ट्रपति पौडेलले सार्कको मुख्य उद्देश्यसँगै अहिले देखापरेको जलवायु परिवर्तनका असरका कारण हिन्दकुश हिमालय पर्वत क्षेत्रमा हिमाल बचाउनुपर्ने र पानीको स्रोत जोगाउनुपर्ने नयाँ चुनौती थपिएको उल्लेख गर्दै यो चुनौती सामना गर्न सार्क क्रियाशील हुन जरुरी रहेको धारणा व्यक्त गरे। 

उनले यस क्षेत्रमा १.९अर्बभन्दा बढी जनता बसोवास गर्ने भएकाले तिनको जनजीवन सहज तुल्याउन सार्क मुलुकहरूले साझा चुनौतीको रूपमा रहेको जलवायु परिवर्तन न्यूनीकरणका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।  

उनले  नेपाल सार्क बडापत्रमा अन्तर्निहित सिद्धान्त एवं लक्ष्यप्रति सदैव प्रतिबद्ध रहँदै आएको तथा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवं सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरेका थिए। 

उनले अवरुद्ध सार्क शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुट्ने आशा पनि व्यक्त गरे। सार्क महासचिवले सरवारले जलवायु परिवर्तनको नयाँ चुनौती सामना गर्न सार्क सदस्यहरूबीच एक–आपसमा सहयोग आदान–प्रदानका लागि सचिवालय क्रियाशील रहने उल्लेख गरे। 

सुझावित समाचार