तनहुँको भिमाद नगरपालिका– ५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइतेमध्ये एकको मृत्यु भएको हो।
घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। मृतकको पहिचान खुल्न बाँकी छ।
ग.१ज ६३५६ नम्बरको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। जिपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो। थप उपचारका लागि तीनजनालाई पोखरा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।