सिराहाको अर्नमा गाउँपालिकाका पूर्वअध्यक्ष ठकु महतो कोइरीको ८० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ।
पछिल्लो करिब चार महिनादेखि काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराइरहेका महतोको काठमाडौंको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
महतोको पार्थिव शरीरलाई अर्नमा गाउँपालिका– २ ब्रह्मपुरीस्थित घरमा ल्याएर बिहीबार साँझसम्म दाहसंस्कार गरिने स्थानीय अरविन्द यादवले जानकारी दिए।
करिब २० वर्षदेखि मधुमेहको औषधि सेवन गरिरहेका महतोको ०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि मुटुमा समस्या देखिएको थियो। ०७९ सालको निर्वाचनमा उनी पराजित भएपछि प्रायः उपचारमै थिए।
०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका महतो पार्टीको प्रदेश अधिवेशन प्रतिनिधि भए पनि बिरामीको कारणले पार्टीमा त्यति सक्रिय हुन सकिरहेका थिएनन्। श्रीमती पहिले नै गुमाइसकेका महतोका दुई छोरा र छोरी छन्।