१४ किलो सुन तस्करी गर्ने समूहको चिनियाँ गिरोहसँग सम्बन्ध

शनिबार, १४ पुष, २०८०
डिजिटल संस्करण

विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी गर्ने पछिल्लो समूहको यसअघि पक्राउ परेको चिनियाँ गिरोहसँग पनि सम्बन्ध रहेको भेटिएको छ । गत २१ मंसिरमा बरामद भएको १४ किलो सुन तस्करी गर्ने समूहका व्यक्तिहरूको वर्षौँदेखि तस्करी गर्दै आएकोलगायतका अन्य समूहसँग सम्पर्क देखिएको हो । 

दुबईबाट १४ किलो सुन लिएर आएका चन्द्र घलेमाथि अनुसन्धान गर्ने क्रममा सो समूहको विगतदेखि नै विमानस्थलबाट सुन तस्करी गर्ने अन्य समूहसँग सम्पर्क देखिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । 

सो प्रकरणमा १० जनालाई पक्राउ गरी अनुसन्धान गर्दा माथिल्लो तहमा डिबी गुरुङ र जोन भन्ने जीवन गुरुङको संलग्नता खुलेको हो । फरार रहेका उनीहरू दुवैजनाको यसअघि सवारीसाधनका पार्टपुर्जामा लुकाएर हङकङबाट सुन तस्करी गर्ने गिरोहसँग पनि सम्पर्क पुष्टि भएको थियो । दावा छिरिङलगायतको सो गिरोहसँग उनीहरूको सम्पर्क देखिएपछि पर्याप्त प्रमाण नपुगेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कागज गरेर छाडेको थियो । 

पछिल्लो घटनामा भने प्रस्ट प्रमाण भएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सुन बरामद भएदेखि नै दुवैजना फरार छन् । सो गिरोहले वर्षाैँदेखि सुन तस्करी गरेको अनुसन्धानमा खुले पनि विस्तृत अनुसन्धान हुन नसक्दा यसमा संलग्न थप उच्च तहका व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन ।

१४ केजी सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले अनुसन्धान पूरा गरी मुद्दा चलाउने तयारी गरिसकेको छ । संगठित अपराधको कसुरमा प्रहरीबाट विस्तृत अनुसन्धान हुन नसक्दा यसमा मुख्य व्यक्तिहरूले उन्मुक्ति पाउने सम्भावना छ । 

पछिल्लो गिरोहका नाइके दनबहादुर (डिबी) गुरुङको काठमाडौंको बानियाँटार सूर्यदर्शन हाइटमा रहेको घरमै तस्करीको सुन स्टोर हुने गर्दथ्यो । त्यो सुन जीवन गुरुङले विभिन्न व्यापारीलाई बिक्री गर्थे । दुवैजना फरार हुँदा तस्करीको अनुसन्धान नै अपूरो हुने भएको छ । 

ब्रेकसुमार्फत सुन तस्करी गर्ने चिनियाँ गिरोहका दायोजिन वाङलाई जीवनले गाडी बिक्री गरेका थिए । साथै, सो तस्करीमा पक्राउ अनुसन्धानको दायरामा तानिएका अन्य धेरै व्यक्तिसँग उनको नियमित सम्पर्क थियो । दोस्रो चरणको अनुसन्धानमा उनी सिआइबीको निगरानीमै रहेका वेला विमानस्थलबाट अर्काे समूह खडा गरी सुन तस्करी गर्दै आएको पुष्टि भएको हो । डिल्लीबजारमा प्लाटिनम कलेजसमेत चलाउने गुरुङको रेस्टुरेन्टलगायत व्यवसायमा लगानी छ । उनी दुबईबाट सुन पठाउने अंकित अग्रवाल भनिएका व्यक्तिको निर्देशनमा सुनको कारोबार गर्ने व्यक्ति भएको भन्सार स्रोत बताउँछ । फरार रहँदा उनले तस्करीको सुन कसलाई दिन्थे र क–कसको लगानी छ भन्ने खुल्न सकेको छैन । 

राजनीतिक रूपमा जोन पहुँचवाला रहेको पाइएको छ । ‘माओवादी र एमालेका उच्च नेतासँग उनी नियमित सम्पर्कमा देखिन्छन्,’ भन्सार स्रोत भन्छ, ‘आफूलाई मुद्दा नचलाउन फरार अवस्थामै उनले सरकारी वकिल कार्यालयबाट चलखेल गरिरहेको सुन्न आएको छ ।’ भन्सारले अनुसन्धान सकेर रायका लागि सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । गुरुङका तर्फबाट केही नेताले सो मुद्दामा भन्सार र सरकारी वकिलसँग चासो राखेका छन् । 

सो घटनामा सुन ल्याउने चन्द्र घले र कृष्ण श्रेष्ठ तथा काठमाडौंमा व्यवस्थापन गर्ने मीनबहादुर घलेलाई भन्सारले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा नागरिक उड्डयन कार्यालयका कर्मचारी तथा विमानस्थलका सरसरफाइ कर्मचारी छन् । विमानस्थलमा डिबी गुरुङले सेटिङ मिलाउने गर्दथे । उनी पक्राउ नपर्दा सेटिङमा संलग्न उच्च तहका व्यक्तिहरूसमेत पक्राउ परेका छैनन् । 

प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले १४ किलो सुन तस्करीको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा रायका लागि पठाइएको बताए । सो समूहले पछिल्लो एक वर्षमा विमानस्थलबाट एक सय ३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । सिसिक्यामेराको स्टोरेज नहुँदा थप तस्करी खुल्न सकेको छैन । तस्करहरूले अध्यागमनको शौचालयमा ल्याएर सुन राख्ने र कर्मचारीहरूले विमानस्थलबाट पास गराउँदै आएका थिए ।
 

सुझावित समाचार