पौने चार खर्बको सेयर लगानीबाट सरकारलाई सवा २७ अर्ब लाभांश प्राप्त

आइतबार, १० मंसिर, २०८०
डिजिटल संस्करण

सरकारको सेयर लगानी रहेका एक सय १८ संस्थामध्ये १५ वटाले मात्रै लाभांश दिए

सरकारले विभिन्न संस्थान, निकाय तथा कम्पनीमा गरेको सेयर लगानीबाट सवा २७ अर्ब लाभांश प्राप्त गरेको छ । गत आर्थिक वर्ष ०७९/८० मा सरकारले सेयर लगानी गरेका संस्थाबाट २७ अर्ब ३८ करोड रुपैयाँ नगद लाभांश प्राप्त गरेको हो । 

हालसम्म सरकारले एक सय १८ संस्थामा तीन खर्ब ८६ अर्ब रुपैयाँ सेयर लगानी गरेको छ । सेयर लगानी भएका संस्थामध्ये १५ वटाले लाभांश दिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । सरकारले गरेको कुल सेयर लगानीको अनुपातमा ७.१ प्रतिशत लाभांश प्राप्त गरेको देखिन्छ । प्राप्त लाभांश सन्तोषप्रद भएको कार्यालयका निमित्त प्रमुख डिलाराम गिरीले बताए । ‘थुप्रै संस्थान बन्द अवस्थामा छन्, चलेका पनि कतिपय घाटामा छन्, यस्तो अवस्थामा धेरै लाभांश आउने कुरै भएन,’ उनले भने, ‘तर, सार्वजनिक संस्थानमा आएको सुधार र सरकारले ताकेता गरेका कारण लाभांशमा केही सुधार आएको हो, अझ सुधार आवश्यक छ ।’ विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरणजस्ता पूर्वाधारमा लगानी गर्ने निकायबाट तत्कालभन्दा पनि दीर्घकालमा अझ बढी लाभांश आउने सम्भावना हुने उनले बताए । 

गत आवमा सरकारलाई सबैभन्दा बढी नगद लाभांश नेपाल राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकबाट ११ अर्ब सात करोड लाभांश प्राप्त भएको छ । सबैभन्दा कम साझा सेवाबाट चार हजार दुई सय रुपैयाँ प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, नेपाल टेलिकमबाट ६ अर्ब ५८ करोड, नेपाल दूरसञ्चार प्राधिकरणबाट पाँच अर्ब ५१ करोड, कृषि विकास बैंकबाट एक अर्ब ६ करोड र राष्ट्रिय वाणिज्य बैंकबाट एक अर्ब चार करोड नगद लाभांश प्राप्त भएको हो । 

धेरै लगानी प्राधिकरणमा
सरकारले गत आवसम्ममा सबैभन्दा बढी नेपाल विद्युत् प्राधिकरणमा एक खर्ब ७४ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर लगानी गरेको छ । त्यस्तै, नागरिक उड्डयन प्राधिकरणमा ६२ अर्ब ७४ करोड र नेपाल टेलिकममा १६ अर्ब ४६ करोडबराबरको सेयर लगानी गरेको छ । सरकारी बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंकमा १५ अर्ब ४६ करोड, कृषि विकास बैंकमा १३ अर्ब २९ करोड र नेपाल बैंकमा पाँच अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर लगानी रहेको छ । त्यस्तै, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)मा १२ अर्ब ४७ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषमा नौ अर्ब, अन्तर्राष्ट्रिय मुद्राकोषमा ६ अर्ब ५८ करोड र नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडमा चार अर्ब ९४ करोड रुपैयाँबराबरको सेयर रहेको छ ।  

हालसम्मकै धेरै लाभांश
पछिल्ला दुई आर्थिक वर्षमा सरकारले सेयर लगानीबाट प्राप्त हुने नगद लभांश घट्दै आएको थियो । आव ०७६/७७ मा सरकारले २३ अर्ब ६४ करोड लाभांश प्राप्त गरेको थियो । त्यसपछिका दुई आर्थिक वर्षमा सरकारले प्राप्त गर्ने लाभांश घट्यो । सरकारले आव ०७७/७८ मा १२ अर्ब ७५ करोड र आव ०७८/७९ मा चार अर्ब २४ करोड रुपैयाँ मात्रै लाभांश प्राप्त गरेको थियो । गत आवमा भने सरकारले हालसम्मकै सबैभन्दा बढी नगद लाभांश प्राप्त गरेको हो । सञ्चालनमा रहेका केही संस्थानमा देखिएको सुधार र सरकारी निकायले आम्दानी बढाएपछि सरकारले प्राप्त गर्ने लाभांश पनि बढेको हो । 

संस्थानमा सुधार आए अझ लाभांश बढ्छ : डिलाराम गिरी, निमित्त कार्यालय प्रमुख
गत आवमा पछिल्ला तीन आर्थिक वर्षयताकै धेरै लाभांश प्राप्त भएको छ । यसलाई सन्तोषप्रद लाभांश मान्नुपर्छ । तर, संस्थान तथा निकायहरूमा सुधार भएमा लाभांश अझ बढ्न सक्छ । थुप्रै संस्थान बन्द अवस्थामा छन्, चलेका पनि कतिपय घाटामा छन्, यस्तो अवस्थामा धेरै लाभांश आउने कुरै भएन । तर, सार्वजनिक संस्थानमा आएको सुधार र सरकारले ताकेता गरेका कारण लाभांशमा केही सुधार आएको हो, अझ सुधार आवश्यक छ । विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरणजस्ता पूर्वाधारमा लगानी गर्ने निकायबाट तत्कालमा भन्दा पनि दीर्घकालमा अझ बढी लाभांश आउने सम्भावना हुन्छ । 

सुझावित समाचार