संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गरेको सम्बोधनबाट विश्व समुदायमाझ नेपालको गौरव बढेको पूर्वसभामुखहरूले बताएका छन्।
महासचिव गुटेरेसको सम्बोधनपछि कुराकानी गर्दै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रिया टुंग्याउन, विश्वशान्ति कायम गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खेलेको भूमिका र सहयोगको महासचिवबाट भएको सराहनाले बहुआयामिक सन्देश प्रवाह गरेको बताए। उनले भने, 'राष्ट्रसंघको विश्वशान्ति स्थापनाको अभियानमा नेपालले पुर्याएको साथ र सहयोगको खुलेर प्रशंसा गर्नुभएको छ। छोटो मन्तव्यमा पनि महासचिवले नेपाल र नेपालको प्रतिष्ठा बढाउने धेरै कुराको संश्लेषण राख्नुभएको छ ।'
सगरमाथा र अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेर जलवायु परिवर्तनबाट परेको असरबारे स्थानीयसँग जानकारी लिने र अवलोकन गर्ने कार्य हाम्रा लागि निकै महत्त्वपूर्ण विषय भएको पूर्वसभामुख सापकोटाले टिप्पणी गरे।
अर्का पूर्वसभामुख दमननाथ ढुंगानाले शान्ति प्रक्रिया आफैँ पूरा गर्न नेपाललाई सुझाव दिँदै आवश्यक परेको खण्डमा सहयोग गर्छौँ भनी देखाएको उदारता र दृष्टिकोण सराहनीय रहेको प्रतिक्रिया दिए।
शान्ति सेनामा नेपालको भूमिकाको महासचिवबाट राम्रो मूल्यांकन भएको उल्लेख गर्दै मन्तव्यका क्रममा महासचिवले दिवंगत सैनिकप्रति श्रद्धाञ्जली सम्मानका लागि गरेको आग्रह त्यसको उदाहरण भएको पूर्वसभामुख ढुंगानाको भनाइ थियो।
संसद् सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले महासचिवको भ्रमणको कार्यक्रम नेपाल र नेपालीका लागि निकै महत्त्वपूर्ण रहेको बताए।
पूर्वमहासचिव भट्टराईले विश्व शान्तिमा पुर्याएको योगदान र जलवायु परिवर्तनको क्षतिका लागि नेपालले खेलेको भूमिकालाई सहयोग गर्नुपर्छ भनी राख्नुभएको भनाइ आफैँमा उच्च कोटीको रहेको टिप्पणी गरे।
यसअघि पनि राष्ट्रसंघका महासचिव वान कि मुनले संविधानसभालाई गर्नुभएको सम्बोधनले शान्ति प्रक्रियालाई अघि बढाउन र संविधान बनाउन प्रेरणा र उत्साह मात्र नभई समन्वय र सक्रियताका लागि निकै ठूलो बल प्रदान गरेको घटना पूर्वमहासचिव भट्टराईले स्मरण गराए। रासस