संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पर्यटकीय नगरी पोखरा आउने भएको छ।
नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं आइपुगेका महासचिव गुटेरेसको भ्रमण कार्यतालिकामा पोखरा समावेश गरिएको छ।
भ्रमणका क्रममा सोमबार दिउँसो पोखरा आउने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।
महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ। महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था मजबुद पारिएको उनले जानकारी दिए।
सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने जनाइएको छ।
राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ। महासचिव गुटेरेसको भ्रमणमा पर्यटकीय नगरी पोखरा समेटिनुले पोखराको गरिमा र महत्त्व अझै बढ्ने विश्वास लिइएको छ।
अतिविशिष्ट व्यक्तिको पोखरामा हुन लागेको भ्रमण आफूहरूका लागि ठूलो गौरवको विषय भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए।