सामाजिक सञ्जाल एक्सले हमाससम्बद्ध सयौँ खाता हटायो

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

इजरायलमा हमासको हमलापछि सामाजिक सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो) ले हमाससम्बद्ध सयौँ खाता हटाएको छ । ‘आतंकवादी संगठनहरूलाई एक्समा कुनै स्थान छैन,’ भन्दै उसले खाता बन्द गरेको हो ।  

‘एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्वपूर्ण समयमा एक्सको प्लेटफर्ममार्फत प्रसारित हुन सक्ने कुनै पनि अवैध सामग्रीलाई सम्बोधन गर्नुपर्ने महत्वलाई एक्सले बुझेको छ,’ एक्सका प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले भनिन्, ‘आतंकवादी संगठन र हिंसात्मक अतिवादीहरूलाई एक्समा कुनै स्थान छैन र हामी सही समयमा सक्रिय समूहसहितका यस्ता खाताहरू हटाउन जारी राख्छौँ ।’

युरोपेली युनियन उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई जारी गरेको २४ घन्टे अल्टिमेटमले एक्सलाई ती खाता हटाउने परिस्थिति बनाएको थियो । ब्रेटोनले एक्समा दुष्प्रचारको सामना गर्न र नयाँ इयू अनलाइन सामग्री नियमहरूको पालना गर्न आग्रह गर्दै मस्कलाई अल्टिमेटम दिएका थिए । 

इयूको नयाँ डिजिटल सर्भिस कानुनअन्तर्गत एक्स र मेटाको फेसबुकजस्ता ठूला अनलाइन प्लेटफर्मलाई अवैध सामग्री हटाउन र सार्वजनिक सुरक्षाका साथै नागरिक बहसमाथिको खतरालाई सम्बोधन गर्न सक्रिय उपाय अवलम्बन गर्न आवश्यक छ ।  

थिएरी ब्रेटोनले गत सोमबार इजराइलमा भएको हमलापछि आफ्नो प्लेटफर्ममार्फत भएका दुष्प्रचारको सामनाका लागि गरिएका कारबाहीबारे जानकारी दिन मेटा (फेसबुक)लाई पनि २४ घन्टाको समय दिएका थिए । रासस

सुझावित समाचार