सुदूरपश्चिममा पहिलोपटक खुल्दै राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत

सरकारले कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक अघि बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको करिब ६ सय शय्याको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृत गरेका हो । 

विधेयक अब संसद्मा पेस हुन बाटो खुलेको छ । कानुन बनेपछि विश्वविद्यालय सञ्चालनमा आउनेछ । यसअघि गेटा मेडिकल कलेज बनाउने भनिए पनि सरकारले ०७९ माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यसका लागि गेटामा पाँच अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माण सम्पन्न भइसकेको छ । कानुनी बाटो तयार भइसकेपछि सुदूरपश्चिममै पहिलोपटक विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ । 

डा. दीपकप्रकाश भट्ट, पूर्वसांसद
यो हामी सबैका लागि ठूलो उपलब्धि हो, अझ सुदूरपश्चिमका लागि हर्षको विषय हो । यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा यो नयाँ सुरुवाती सुधारको संकेत पनि हो । अब सबै विषयमा अध्ययन अनसुन्धान गर्न र सबै विषय बढाउन विश्वविद्यालयले मद्दत गर्छ ।

यस किसिमको विश्वविद्यालय सञ्चालनका लागि ०५६ देखि नै प्रयास थालिएको थियो । सोहीअनुसार ०५६ मा मेडिकल कलेज स्थापनाका लागि गेटा आँखा अस्पतालनजिक ७७ बिघा जमिन छुट्याइएको थियो । ०६६ मा राष्ट्रिय योजना आयोगमार्फत मेडिकल कलेज बनाउन ११ करोड रुपैयाँ विनियोजन भएको थियो भने ०६६ मै गेटा मेडिकल कलेज संरचना विकास समितिसमेत गठन भयो । 

०७४ मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै वेला पूर्वाधार निर्माण कार्य सुरु गरियो । २९ माघ ०७९ मा मन्त्रिपरिषद्बाट गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विस्तार गर्ने निर्णय भयो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट विश्वविद्यालयको विधेयक तयार भई स्वीकृत भएपछि विश्वविद्यालय सञ्चालनमा अर्को उपलब्धि भएको छ ।

हाल देशभर सातवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र २१ वटा मेडिकल कलेज सञ्चालनमा छन् । तर सुदूरपश्चिममा यस्तो प्रतिष्ठान तथा विश्वविद्यालय भने छैनन् । अब सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रकै स्वास्थ्य क्षेत्रमा थुप्रै अध्ययन अनुसाधन हुने अनुमान गरिएको छ । 

विश्वविद्यालय सञ्चालनका लागि लामो समयदेखि संघर्ष र विभिन्न अभियान सञ्चालन गर्दै आएका अभियन्ता तथा पूर्वसांसद डा.दीपकप्रकाश भट्टले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रका मात्रै नभई नेपालकै स्वास्थ्य क्षेत्रमा ठूलो आयाम ल्याउने र स्वास्थ्य क्षेत्रका थुप्रै अध्ययन अनुसन्धान हुनसक्ने बताए । ‘यो हामी सबैका लागि ठूलो उपलब्धि हो, अझ सुदूरपश्चिमका लागि हर्षको विषय हो । यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा यो नयाँ सुरुवाती सुधारको संकेत पनि हो । अब सबै विषयमा अध्ययन अनसुन्धान गर्न र सबै विषय बढाउन विश्वविद्यालयले मद्दत गर्छ,’ उनले भने । 

सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालन हुनुपर्ने मागसहित दबाबमूलक आन्दोलन र सर्षघका कार्यक्रम हुँदै आएका थिए । लामो समयदेखि सुदूरपश्चिम क्षेत्रले माग गरेको विश्वविद्यालय सञ्चालनका लागि सरकार सकारात्मक देखिएपछि स्वास्थ्य क्षेत्र फराकिलो बन्ने अनुमान गरिएको हो । 

कहिले के निर्णय भए ?
- ०५६ मा मेडिकल कलेज स्थापनाका लागि गेटा आँखा अस्पताल नजिक ७७ बिघा जमिन छुट्याइयो
- ०६६ मा राष्ट्रिय योजना आयोगमार्फत मेडिकल कलेज बनाउन ११ करोड रूपैयाँ विनियोजन
- ०६६ मै गेटा मेडिकल कलेज संरचना विकास समिति गठन
- ०७४ मा प्रचण्ड प्रधानमन्त्री भएकै बेला पूर्वाधार निर्माण कार्य सुरु
- २९ माघ ०७९ मा मन्त्रिपरिषद्बाट गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विस्तार गर्ने निर्णय
- हाल विश्वविद्यालयको विधेयक तयार भई मन्त्रिपरिषद्को बैठकबाट व्यवस्थापिका संसद्मा दर्ता 

सुझावित समाचार