पोखरास्थित एक नर्सिङ होमको शड्ढया संख्या ५० बाट बढाएर १०० पुर्याउने अनुमति दिने विषयमा ३० लाख रुपैयाँको आर्थिक सौदाबाजी भएको आरोपमा गण्डकी प्रदेशका तत्कालीन स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलमाथि कारबाही गर्न सिफारिस गरिएको छ ।
आर्थिक लेनदेनसम्बन्धी विवरण सार्वजनिक भएपछि नेकपा एमालेले गठन गरेको तीन सदस्यीय छानबिन समितिले दुवैलाई कारबाही गर्न सिफारिस गरेको हो । समितिले तयार पारेको प्रतिवेदन एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीलाई बुझाइएको छ ।
पोखरा महानगरपालिका–३, नदीपुरमा सञ्चालित पद्म नर्सिङ होमको शड्ढया क्षमता ५० बाट बढाएर १०० पुर्याउने अनुमति दिने विषयमा आर्थिक सौदाबाजी भएको आरोप लागेको हो । उक्त प्रकरणमा तत्कालीन स्वास्थ्यमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेलको संलग्नता रहेको दाबी गरिएको छ । पाण्डे ०८३ वैशाख २ देखि भदौ १० गतेसम्म गण्डकी प्रदेशको स्वास्थ्यमन्त्री रहेका थिए ।
घटनाको तथ्य र सत्य छानबिन गरी प्रतिवेदन पेस गर्न एमाले प्रदेश सभा संसदीय दलले समिति गठन गरेको थियो । समितिको संयोजकमा दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठी तथा सदस्यमा संसदीय बोर्डका सचिव वेदबहादुर गुरुङ र पार्टी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी रहेका थिए ।
छानबिनका क्रममा पाण्डे र पौडेलले पदीय मर्यादाविपरीत काम गरेको निष्कर्ष निकाल्दै समितिले अनुशासनको कारबाही गर्न सिफारिस गरेको हो । उनीहरूले पार्टी विधानको धारा ८४ को ‘छ’ र ‘ञ’ विपरीत कार्य गरेको निष्कर्षसहित प्रदेश सभा संसदीय दलको विधान, २०८० को धारा २७ अनुसारसमेत कारबाही गर्न प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पार्टी विधानले पार्टीको नीति, निर्णय र प्रतिष्ठामा आँच पुर्याउने, पदीय मर्यादाविपरीत काम गर्ने तथा आर्थिक अनियमितता, भ्रष्टाचार र आर्थिक अपचलनजस्ता गतिविधिलाई अनुशासनविपरीत मानेको छ ।
त्यस्तै, संसदीय दलको विधानमा दलको नीति तथा निर्देशन उल्लंघन गर्ने, पदीय मर्यादाविपरीत काम गर्ने र दलको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेमा सचेत गराउने, जिम्मेवारीबाट निलम्बन गर्ने वा दलबाट निष्कासनसम्मको कारबाहीका लागि सिफारिस गर्न सकिने व्यवस्था छ ।
सार्वजनिक विवरणअनुसार पद्म नर्सिङ होमको शड्ढया क्षमता विस्तारका लागि अनुमति दिने विषयमा सुरुमा २० लाख रुपैयाँ, त्यसपछि २५ लाख हुँदै ३० लाख रुपैयाँसम्मको रकमबारे कुराकानी भएको आरोप छ । यससम्बन्धी भिडियोसमेत सार्वजनिक भएको बताइएको छ ।
सार्वजनिक भिडियोमा तत्कालीन
मन्त्री पाण्डेको निवासमा उनी र नर्सिङ होमका सञ्चालकहरूबिच रकम लेनदेनबारे कुराकानी भएको दाबी गरिएको छ । शड्ढया थपका लागि ३० लाख रुपैयाँको सौदाबाजी भएपछि नर्सिङ होमको खाताबाट स्वकीय सचिव पौडेलको नाममा ३० लाख रुपैयाँको चेक काटिएको विवरणसमेत सार्वजनिक भएको छ ।
यस प्रकरणमा गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलाको संलग्नता रहेको दाबीसम्म गरिएको छ । यद्यपि, यससम्बन्धी आरोपको स्वतन्त्र पुष्टि तथा सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया आवश्यक छ ।