१९औँ एसियाडमा नेपाली क्रिकेटरले विश्व कीर्तिमानदेखि व्यक्तिगत रेकर्ड राख्ने क्रमलाई जारी नै राखेका छन् । क्रिकेटमा नेपालले लगातार दुई खेलमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्दा अभिनाश बोहराले कीर्तिमानी बलिङ गरेका छन् । एसियाडअन्तर्गत आइतबार माल्दिभ्सविरुद्धको खेलमा नेपालका बलर अभिनाशले व्यक्तिगत रेकर्ड राखेका छन् । उनी अहिले नेपालका अन्तर्राष्ट्रिय टी–२० फम्र्याटमा एकै खेलमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले माल्दिभ्सविरुद्धको खेलमा ६ विकेट हात पारे ।
अभिनाशको यस सफलतासँगै उनी नेपालबाट अन्तर्राष्ट्रिय टी–२० फम्र्याटमा ६ विकेट लिने पहिलो बलर पनि बने । नेपालले माल्दिभ्समाथि एक सय ३८ रनको फराकिलो जित निकाल्दा उनले ३.४ ओभरमा ११ रन खर्चिए । यसअघि यो रेकर्ड लेग स्पिनर सन्दीप लामिछानेको नाममा थियो । सन्दीपले गत वर्ष क्यानडाविरुद्ध नौ रन खर्चेर सर्वाधिक पाँच विकेट लिएका थिए । उनले क्यानडाविरुद्ध चार ओभर बलिङ गरेका थिए । सन्दीप र करण केसीले एकै खेलमा समान पाँच विकेट लिएका छन् ।
करणले सन् २०२२ मा टियू क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध २१ रन खर्चेर ५ विकेट लिएका थिए । सन्दीपले सन् २०२२ अगस्टमा केन्याविरुद्ध ५ विकेट लिएका थिए । एकदिवसीय खेलमा सन्दीपले पपुवा न्युगिनीविरुद्ध २०२१ मा ११ रन खर्चेर ६ विकेट लिएका थिए । सन् २०२० मा सन्दीपले अमेरिकाविरुद्ध ६ रन खर्चेर ६ विकेट हात पारेका थिए ।
दुईपटक ह्याट्रिक लिन चुके
हाङझाउमा अभिनाशले सुरुदेखि नै माल्दिभ्सका ब्याट्सम्यानमाथि दबाब राखेका थिए । लक्ष्य पछ्याएको माल्दिभ्सको इनिङ्सको अन्तिम ओभरमा उनी ह्याट्रिक लिन चुकेका थिए । १९.१ उनले हुसेन साधिनलाई क्लिन बोल्ड गरे । १९.२ ओभरमा मोहमदको विकेट लिए । १९.३ ओभरमा उनी ह्याट्रिक गर्न चुके । १९.४ ओभरमा नासिर अलीलाई एलबिडब्लूको धरापमा राखी अभिनाशले टी–२० फम्र्याटको एकै खेलमा सर्वाधिक विकेट लिने सन्दीपको रेकर्ड तोड्न सफल भए ।
यसअघि, उनले इनिङ्सको ६.३ ओभरमा माल्दिभ्सका फरिद सिउलाई कुशल भुर्तेलबाट क्याचआउट गराए । ६.४ ओभरमा उनले इस्मैल नजावनलाई एलबिडब्लूको सिकार गरे । ६.५ ओभरमा उनले मोहमद रियानलाई एलबिडब्लू गरे । अभिनाश माल्दिभ्सविरुद्ध दुईपटक ह्याट्रिक गर्न चुकेका थिए । कीर्तिमानी बलिङ गरेपछि अभिनाशले आफ्नो पुरानो लय फर्किएको संकेत गराए । ‘बिस्तारै म पुरानै फर्ममा आइरहेको छु,’ उनले भने, ‘मंगोलियासँग भन्दा माल्दिभ्सविरुद्धको खेल सहज लाग्यो ।’
उनले सन् २०१९ मा युएईविरुद्ध अन्तर्राष्ट्रिय टी–२० मा डेब्यु गरेका थिए । पछिल्लो दुई वर्ष उनको करिअरमा उतारचढाव आयो । जसका कारण उनले टोलीमा स्थान बनाउन सकेनन् । यद्यपि, उनलाई नेपाली टी–२० टोलीमा विशेषज्ञ बलरका रूपमा मानिएको छ । अभिनाशको खुबी नै नयाँ र पुरानो बलमा योर्कर फ्याँक्न सक्नु नै हो । अझ उनलाई टी–२० को फम्र्याटको डेथ ओभरमा राम्रो बलिङ गर्न सक्ने नेपाली बलरका रूपमा हेरिन्छ । अन्तर्राष्ट्रिय टी–२० मा उनले ३८ खेलमा ४८ विकेट लिएका छन् । उनले एकपटक चार विकेट र एकपटक पाँच विकेटभन्दा माथिको प्रदर्शन गरेका छन् ।
पाँच वर्षपछि टोलीमा
अभिनाशले अन्तिमपटक राष्ट्रिय टोलीबाट ३१ जनवरी २०१९ मा युएईविरुद्ध प्रतिस्पर्धा गरेका थिए । १९औँ एसियाडमा उनी पहिलोपटक टोलीमा समावेश भएका हुन् । लामो समयपछि राष्ट्रिय टोलीमा फर्कंदा उनले खुसी व्यक्त गरेका छन् । ‘लामो समयपछि कमब्याक राम्रो नै भयो, लगातार दोस्रो खेलमा सोचेभन्दा राम्रो खेल्न सकेँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘आगामी खेलमा राम्रो खेल्दै पदक ल्याउनका लागि खेल्नेछौँ ।’ नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामध्ये एकसँग खेल्नेछ । यीमध्ये एक टोलीलाई हराए नेपाल सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा जित हात पारे पदक पक्का हुनेछ । सेमिफाइनलमा तेस्रो स्थानका लागि खेल हुनेछ ।
अभिनाशले क्वार्टरफाइनलमा जितकै लागि प्रयास हुने जनाए । ‘जस्तोसुकै टोली भए पनि हामी जितका लागि खेल्नेछौँ, राम्रो खेलेर देशका लागि पदक ल्याउनुछ,’ उनले भने, ‘अबका दिनमा हाम्रा लागि खेल सहज छैन, यहाँको पिचमा केही पनि भन्न सकिने अवस्था छैन । जे पनि हुन सक्छ ।’
माल्दिभ्समाथि नेपालको फराकिलो जित
नेपालले १९औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा माल्दिभ्समाथि एक सय ३८ रनको फराकिलो जित निकालेको छ । हाङझाउमा नेपाली पुरुष क्रिकेट टोलीले पहिलो ब्याटिङ गर्दै २० ओभरमा सात विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो । प्रत्युत्तरमा माल्दिभ्सले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ७४ रन मात्र जोड्यो । अन्तर्राष्ट्रिय टी–२० फम्र्याटमा नेपालको यो जित २७औँ ठूलो अन्तरको हो । नेपालले नै यसै फम्र्याटमा विश्व कीर्तिमानी रूपमा मंगोलियालाई एसियाडमै दुई सय ७३ रनको जित निकालेको थियो ।
अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको फराकिलो जित अन्तरको सूचीमा नेपालले नै नेदरल्यान्ड्सलाई एक सय ४२ रन र भुटानलाई एक सय ४१ रनले हराएको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले सबै खेलाडीलाई ब्याटिङको मौका दिनुपर्ने भएकाले टस जितेर पहिलो ब्याटिङ रोजेका थिए । अघिल्लो खेलमा विश्वकीर्तिमानी प्रदर्शन गरेको नेपाली खेलाडीले माल्दिभ्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका थिए । यद्यपि, नेपालले यसपटक सात विकेट गुमायो ।
चार ब्याट्सम्यान चुके
प्रतिद्वन्द्वी माल्दिभ्सविरुद्ध चार ब्याट्सम्यानले कमजोर ब्याटिङ गरेका थिए । ओपनर आसिफ शेख ६, विनोद भण्डारी १३, सन्दीप जोरा ५, दीपेन्द्रसिंह ऐरी ६ र सोमपाल कामीले १ रन बनाए । अघिल्लो खेलमा केवल ९ बलमा अर्धशतकीय विश्वकीर्तिमान बनाएका दीपेन्द्रसिंह पुछारमा ब्याटिङ गर्न आएका थिए । उनले दुई बलमा एक छक्का प्रहार गरे । उनी इनिङ्सको १९.४ ओभरमा विकेटकिपर रसिदबाट क्याचआउट भए । विकेटकिपर ब्याट्सम्यान विनोदले लामो समयपछि टोलीमा स्थान बनाएका हुन् ।
एसियाडकै लागि उनले भारतमा विशेष प्रशिक्षण गरेका थिए । तर, विनोदले प्राप्त अवसरलाई सदुपयोग गरेनन् । पिन्च हिटरका रूपमा रहेका सन्दीप जोराले नौ बल सामना गरे । यसबाहेक ओपनर कुशल भुर्तेल, गुल्सन झा र रोहित पौडेल र कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । नेपालले पहिलो चार विकेट गुमाउँदा स्कोर बोर्डमा ६७ रन जोडेको थियो । भुर्तेलले १८ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३५ रन जोडे ।
त्यसपछि रोहित र कुशलले छैटौँ विकेटका लागि १४.६ देखि १८.४ ओभरसम्म ब्याटिङ गरी ७० रनको साझेदारी गरे । मंगोलियाविरुद्ध कम बलमा शतकीय इनिङ्सको विश्वकीर्तिमान बनाएका मल्लले २० बलमा समान तीन चौका र छक्का प्रहार गरी ४७ रन बनाए । कप्तान रोहितले २७ बलमा समान तीन चौका र छक्का प्रहार गरी ५२ रन जोडे । टी–२० क्रिकेटमा उनको चौथो अर्धशतक हो । माल्दिभ्सका लागि नजवान इस्मेलले १७ रनमा तीन विकेट लिए ।
माल्दिभ्सका ६ ब्याट्सम्यान डकआउट
विशाल लक्ष्य पछ्याएको माल्दिभ्सका ब्याट्सम्यानले नेपालका अभिनाश बोहोराको घातक बलिङ सामना गर्न सकेनन् । ६ जना ब्याट्सम्यान शून्य रनमै आउट भए । अजिन रेफिज, नजवान, मोहमद राया, कप्तान हसन रसिद, मोहमद मिउभान र नसेर नैलले खाता नै खोल्न सकेनन् । माल्दिभ्सको ब्याटिङमा गानेले ३४ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३६ रन बनाए । रसामले २९ बलमा १२ रन जोडेका थिए ।
हामी धेरै आत्मविश्वासी भएका छैनौँ
रोहितकुमार पौडेल, कप्तान, नेपाल
यहाँको ब्याटिङ कन्डिसन निकै राम्रो छ । माल्दिभ्सविरुद्ध खराब अवस्थामा पनि ब्याटिङमा सुधार गर्न सफल भयौँ । सबैले टी–२० मा ब्याटिङ अवसर पाउनुपर्छ भनी टस जितेर ब्याटिङ नै रोजेको थिएँ । लगातार दुई खेलमा मेरो ब्याटबाट रन आइरहेको छ । यो व्यक्तिगत सफलताभन्दा पनि टिमको जितमा योगदान हो । दुई खेलको नतिजाले हामी ओभर एक्साइडेड भएका छैनौँ । हामी कोही पनि बढी आत्मविश्वासी भएनौँ । अघिल्लो खेलमा योर्कर फ्याँक्ने योजना थियो । यसै कारण बढी अतिरिक्त रन गएको थियो ।