कार्यान्वयनमा आएन सिंहदरबारमा बोतलको पानी निषेध गर्ने घोषणा

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण

मेलम्चीको पिउनयोग्य खानेपानी जडान भइसक्दा पनि मन्त्रालयहरूले बोतलको पानीको प्रयोग छाडेनन्

अघिल्ला खानेपानीमन्त्री अब्दुल खानले गत ११ माघमा पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बोतलको खानेपानी रोक्ने घोषणा गरे । तत्कालीन सचिव मणिराम गेलाललाई बोतलका पानी रोकेर सार्वजनिक धाराको खानेपानी व्यवस्थापन गर्न निर्देशन दिए । मन्त्रीको निर्देशनअनुसार सचिव गेलालले सिंहदरबारका मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी आउने व्यवस्था गर्नेदेखि सार्वजनिक धारा जोड्नेसम्म काम गरे । तर, मेलम्चीको पिउनयोग्य खानेपानी जडान भइसक्दा पनि मन्त्रालयहरूले बोतलको पानीको प्रयोग छाडेका छैनन् । 

अर्थ मन्त्रालयले गत माघमै जारी गरेको प्रशासनिक खर्च कटौती गर्नेसम्बन्धी निर्देशनमा बोतलको पानी निरुत्साहित गर्ने भनेको थियो । तर, सबैभन्दा बढी बोतलको पानी खरिद अर्थ मन्त्रालयले नै गर्छ । प्रधानमन्त्री कार्यालयले भने बोतलको पानीको प्रयोग घटाउँदै लगेको छ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले बोतलको पानीको प्रयोग बैठक हलहरूमा मात्र गर्ने र उप्रान्त सबै शाखा÷महाशाखाहरूमा बोतलको सट्टा गुणस्तरीय जारको पानी प्रयोगमा ल्याउने व्यवस्था मिलाउने निर्णय गत २८ साउनमा गरेका छन् । गत वर्ष मासिक दुई लाख २९ हजार दुई सय ४७ रुपैयाँका दरले बोतलको पानी किनेकोमा यसपालि मासिक दुई लाखको हाराहारीमा खरिद गर्दै आएको छ । 

भौतिक पूर्वाधार मन्त्रालयअगाडि जडान भएको मेलम्ची खानेपानीको धारा । तस्बिर : संजित परियार/नयाँ पत्रिका

खानेपानी मन्त्रालयका अनुसार सिंहदरबारका अधिकांश मन्त्रालय तथा कार्यालयहरूमा मेलम्चीको पानी पुग्ने गरी प्रणाली जडान गरिएको छ । अहिले सिंहदरबारमा ३९ वटा भवन रहेकामा २४ भवनमा मेलम्चीको पानी आउने गरी प्रणालीसँग आबद्ध गरिएको छ । यसअघि ती भवनहरूमा बोरिङको पानी वितरण हुन्थ्यो । बाँकी भवनहरूमा पनि मेलम्चीको प्रणाली जोडिने मन्त्रालय बताउँछ । 

खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले बोतलको पानी पूर्ण रूपमा हटाउन व्यावहारिक कठिनाइ रहेको बताइन् । मेलम्ची र जारकै पानी पिउन मिल्ने भए पनि सिंहदरबारभित्र ‘भिआइपी’हरूको आवागमन हुने भएकाले बोतलको पानीमा रोक नै लगाउन भने नसकिने उनको भनाइ छ । ‘सिंहदरबारभित्र भिआइपीहरू आउनुहुन्छ, उहाँहरूलाई पनि जारको पानी थापेर दिने कुरा स्वाभाविक हुँदैन,’ उनले भनिन्, ‘कर्मचारी र सामान्य अवस्थामा भने जारको पानी प्रयोग गर्न सकिन्छ ।’ 

प्रधानमन्त्री कार्यालयले घटायो बोतलको पानी
प्रधानमन्त्री कार्यालयले भने बोतलको पानीको प्रयोग घटाउँदै लगेको छ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले बोतलको पानीको प्रयोग बैठक हलहरूमा मात्र गर्ने र उप्रान्त सबै शाखा÷महाशाखाहरूमा बोतलको सट्टा गुणस्तरीय जारको पानी प्रयोगमा ल्याउने व्यवस्था मिलाउने निर्णय गत २८ साउनमा गरेका छन् । गत वर्ष मासिक दुई लाख २९ हजार दुई सय ४७ रुपैयाँका दरले बोतलको पानी किनेकोमा यसपालि मासिक दुई लाखको हाराहारीमा खरिद गर्दै आएको छ ।

सेवाग्राहीका लागि सिंहदरबारमा खानेपानीका तीन धारा 
सिंहदरबारमा निजामती र सुरक्षा निकायसहितका गरी करिब पाँच हजार राष्ट्रसेवक कार्यरत छन् । यहाँ दैनिक सयौँ मानिस विभिन्न काम लिएर आउँछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सबै संघीय मन्त्रालय (स्वास्थ्यबाहेक) यहीँ छन् । तर, यहाँ आउने आगन्तुक र कर्मचारीले बाहिर निस्किँदा तिर्खा लागे पानी पाउने अवस्था थिएन । 

खानेपानीको यही समस्या समाधानका लागि खानेपानी मन्त्रालयले सिंहदरबारभित्र तीन धारा जडान गरेको छ । खानेपानी मन्त्रालय, गृह मन्त्रलाय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि धारा जडान गरिएका छन् । खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी आपूर्ति व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले यी धाराको व्यवस्थापन गरेका छन् । 

मीना श्रेष्ठ, प्रवक्ता खानेपानी मन्त्रालय
सिंहदरबारमा बोतलको पानी पूर्ण रूपमा हटाउन व्यावहारिक कठिनाइ छ । सिंहदरबारभित्र भिआइपीहरू आउनुहुन्छ, उहाँहरूलाई पनि जारको पानी थापेर दिने कुरा स्वाभाविक हुँदैन । कर्मचारी र सामान्य अवस्थामा भने जारको पानी प्रयोग गर्न सकिन्छ ।

खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले पहिलो चरणमा ‘ट्रायल’का लागि तीन ठाउँमा धारा जडान गरिएको बताइन् । मन्त्रालयले चार ठाउँमा धारा जडान गर्ने योजना बनाए पनि हालका लागि तीन स्थानमा मात्र राखिएको उनले बताइन् । ‘पहिलो चरणमा तीन धारा जडान गरिएको छ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘मागका आधारमा क्रमशः अरू धारा पनि जडान गर्न सकिन्छ । 

प्रवक्ता श्रेष्ठका अनुसार यी धारा मेलम्चीकै प्रणालीसँग जोडिएको छ । मेलम्चीको पानी आउने अनामनगरमा रहेको ट्यांकीमा सिंहदरबारको खानेपानी प्रणाली जोडेर त्यहाँबाट पानी प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । उनले धारामा आउने पानी सीधै पिउन मिल्ने बताइन् । ‘शुद्धीकरण गरिएकाले धारामा आउने पानी सीधै पिउन मिल्छ,’ उनले भनिन् । मेलम्चीको पानीलाई सुन्दरीजलमा नै प्रशोधन गरेर वितरण गर्ने व्यवस्था गरिएको छ । धारामा २४ घन्टा नै पानी आउने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ । 

तर, वर्षा, पहिरोको जोखिम तथा मर्मतसमेत गर्नुपर्ने भएका कारण मेलम्चीको पानी केही समयअघि रोकिएको थियो । केही दिनयता मेलम्चीबाहेकका स्रोतमा जोडेर वितरण सञ्चालन गरिएको छ । सिंहदरबारमा गरिएको सार्वजनिक धाराको यो ‘ट्रायल’ सफल भए सिंहदरबारबाहिरका प्रमुख विभागहरूमा पनि सेवाग्राहीका लागि धारा जडान गरिने प्रवक्ता श्रेष्ठले बताइन् । 

तत्कालीन खानेपानीमन्त्री अब्दुल खानले गत १७ चैतमा सिंहदरबारका खानेपानी धारा उद्घाटन गर्दै उनले छिट्टै सिंहदरबारबाहिरका सार्वजनिक स्थल, शौचालय, विमानस्थल, बसपार्क, अस्पताललगायतका स्थानमा पनि सार्वजनिक धारा राख्ने घोषणा गरेका थिए । केही स्थानमा सस्तो मूल्यमा ‘वाटर एटिएम’ सुरु गरिए पनि निःशुल्क सार्वजनिक धारा भने छैनन् । 

See More On

सुझावित समाचार