एसिया कप : साबिक विजेता श्रीलंका ६६ बलअघि नै विजयी

शुक्रबार, १५ भदौ, २०८०
डिजिटल संस्करण
एसिया कप : साबिक विजेता श्रीलंका ६६ बलअघि नै विजयी

एसिया कपको समूह ‘बी’मा बंगलादेशमाथि सानदार जित निकालेपछि श्रीलंकाली खेलाडी

 एसिया कप क्रिकेट प्रतियोगिताको साबिक विजेता श्रीलंकाले बिहीबार समूह ‘बी’मा बंगलादेशमाथि पाँच विकेटको सानदार जित निकालेको छ । घरेलु मैदानमा श्रीलंका ६६ बलअघि नै विजयी भएको हो । पालेकेले मैदानमा तीनपटकको पूर्वउपविजेता बंगलादेशले पहिलो ब्याटिङ गरेको थियो । बंगलादेश ४२.४ ओभरमा एक सय ६४ रनमा समेटियो ।

प्रत्युत्तरमा श्रीलंकाले ३९ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६५ रन बनायो । जितसँगै श्रीलंकाले दुई अंक जोड्यो । यस समूहमा तेस्रो टोली अफगानिस्तान हो । समूह ‘ए’मा पाकिस्तानले नेपालमाथि बुधबार दुई सय ३८ रनको फरकिलो अन्तरले जित निकालेको थियो ।

सदिरा र चरिथबीचको साझेदारी
सहज लक्ष्य पछ्याउँदा श्रीलंकाले पहिलो पावर प्लेमै तीन विकेट गुमाएको थियो । बंगलादेशी बलरले शीर्ष तीन ब्याट्सम्यानलाई पेभेलियन पठाउँदा श्रीलंका ब्याटिङमा कमजोर देखियो । ओपनर पथुम निसांका १३, दिमुथ करुनारत्ने १ र कुशल मेन्डिस १ रनमा आउट हुँदा श्रीलंका ४३–३ को अवस्थामा थियो । त्यसपछि सदिरा समाराविक्रम र चथि आसालांकाबीच चौथो विकेटका लागि ७८ रनको महत्वपूर्ण साझेदारी भयो । श्रीलंकाको जित आधार यही साझेदारी भयो । 
दुवै ब्याट्सम्यानले ९.२ देखि २९.१ ओभरसम्म श्रीलंकाली ब्याटिङ इनिङ्स अगाडि बढाए । सदिरा र चरिथले आक्रामक ब्याटिङ गरेनन् । बंगलादेशी बलरको कमजोर बल फ्याँकेको अवस्थामा स्ट्रोक लगाए । सदिराले ७७ बलमा ५४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले आफ्नो इनिङ्समा ६ चौका प्रहार गरे । उनलाई महेदी हसनले विकेटपछाडि मुस्फिकर रहिमबाट क्याचआउट गराए ।

सदिराले कप्तान दुसान संनकासँग छैटौँ विकेटका लागि अविजित ४४ रनको साझदोरी गरे । दुसानले २१ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । श्रीलंकाको जितमा महत्वपूर्ण योगदान दिएका सदिराले ९२ बल खेल्दै ६२ रन जोडे । उनले पाँच चौका र एक छक्का प्रहार गरे । श्रीलंकाको ब्याटिङमा एक मात्र छक्का उनले नै प्रहार गरेका थिए । 

सकिबले लिए दुई विकेट
बंगलादेशका कप्तान सकिब अल हसनले श्रीलंकाली ब्याट्सम्यानलाई रोक्ने काम गरे । उनले आफ्नो १० ओभरको स्पेलमा कसिलो बलिङ गर्दै केवल २९ रन खर्चंदै दुई विकेट लिए । यसक्रममा उनले दुई मेडन ओभर फ्याँके । सकिबले धनञ्जय डी सिल्भा र कुशलको विकेट लिए । यसैगरी, तक्सिन अहमेदले सात ओभरमा एक मेडन राखी एक विकेट हात पारे । इस्लामले २३ रन खर्चंदै एक विकेट लिए । महेदीले १० ओभरमा ३५ रन खर्चंदै एक विकेट हात पारे । बंगलादेशका लागि हसन मिर्जाले मात्र विकेट लिन सकेनन् । बंगलादेशी बलरले १३ अतिरिक्त रन दिएका थिए । 

पथिरानाको घातक बलिङ
पहिलो ब्याटिङ गरेको बंगलादेशले श्रीलंकाली बलर मथिस पथिरानाको घातक बलिङ सामना गर्न सकेनन् । उनले केवल ७.४ ओभरमा ३२ रन खर्चंदै चार विकेट हात पारे । उनले आफ्नो स्पेलमा २६ डट बल फ्याँकेका थिए । बंगलादेशी ब्याट्सम्यानले पथिरानाविरुद्ध दुई चौका प्रहार गरे । यसैगरी, महिश थिसनाले आठ ओभरमा १९ रन दिँदै दुई विकेट लिए । उनी आइसिसीको एसिया कपमा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा परेका थिए । श्रीलंकाका लागि वालागाने र दुसानले समान एक विकेट लिएका थिए । 

नजमुलको सर्वाधिक ८९ रन 
कमजोर ब्याटिङ प्रदर्शन गरेको बंगलादेशका लागि तेस्रो क्रमका ब्याट्सम्यान नजमुल होसेनले सर्वाधिक ८९ रनको योगदान दिएका थिए । उनले एक सय २२ बल सामना गरेका थिए । यसक्रममा उनले सात चौका प्रहार गरे । इनिङ्सको ४१.२ ओभरमा उनी आउट भए । उनी आउट हुँदा बंगलादेश १६२–८ को अवस्थामा थियो । बंगलादेशले अन्तिम चार विकेट दुई रनभित्र गुमाएको थियो ।  बंगलादेशका नजमुलबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो रन बनाएनन् । 

 नेपाली क्रिकेट टोली श्रीलंकामा
नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध प्रतिस्पर्धा गर्न बिहीबार बिहान श्रीलंका पुगेको छ । नेपालले ४ सेप्टेम्बरमा सर्वाधिक विजेता भारतसँग खेल्दै छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । 

सुझावित समाचार