सामाजिक सदभाव कायम राख्न धरानमा क्रियाशील १३ दलको अपिल, कार्यक्रम स्थगित गर्न आग्रह

शुक्रबार, ८ भदौ, २०८०
डिजिटल संस्करण

सुनसरीमा क्रियाशील राजनीतिक पार्टीहरूले धरानमा भोलिका लागि निर्धारित कार्यक्रमहरू स्थगित गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन् । 

आज धरानमा बसेको सर्वदलीय बैठकमा उपस्थित विभिन्न १३ वटा राजनीतिक पार्टीले यस्तो आग्रह गरेका हुन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै सामाजिक सदभाव खलबलिने कुनै गतिविधि नगर्न तथा सामाजिक सञ्जालहरूबाट त्यस्ता सामग्रीहरू सेयर नगर्न पनि अनुरोध गरेका छन् । 

 
‘यसै सन्दर्भमा धरानमा देखापरेको धार्मिक, सांस्कृतिक विवादका विषयलाई सर्वपक्षीय–सर्वदलीय वार्ता संवादको माध्यमद्वारा समाधान गर्न हामी प्रतिबद्ध छौँ । अतः भोलि भदाै ९ गते सम्बन्धित पक्षहरूबाट धरानमा आयोजना गर्न लागिएका पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गरिदिनुहुन अनुरोध गर्दछौँ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले एक–अर्काबीचको सदभाव, सहिष्णु वातावरण बिथोलिने आशंका उत्पन्न भएकाले चिन्तित बनाएको भन्दै १३ दलले वार्ता–संवादको माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि जनाएका छन् । 

‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसात् गर्दै सबै जाति, धर्म, समुदायले एक–आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्थामा ठेस पुर्याउने गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

सुझावित समाचार