गण्डकीका मुख्यमन्त्रीसँग संसदमा प्रश्नोत्तर

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण

प्रदेश सभा स्थापना भएको साढे पाँच वर्षपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर सुरु भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा एमालेका नौ सांसदले विभिन्न विषयमा प्रश्न सोधेका थिए । प्रदेश सभा सदस्यले राखेको प्रश्नको उत्तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तत्कालै दिएका थिए । प्रश्नोत्तरका क्रममा प्रश्न सोध्न एक एक मिनेट समय निर्धारण गरिएको थियो । प्रदेश सभा बैठकको सुरुमा शून्य समय सकिएसँगै सभामुखले मुख्यमन्त्री पाण्डेले सरकारले गरेका कामकारबाहीबारे सदनलाई जानकारी गराएका थिए । त्यसपछि मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको थियो । 

एमाले सांसद कृष्णप्रसाद पाठकले कालीगण्डकी नदी प्रशासन र जनप्रतिनिधिको संलग्नतामा दोहन भइरहेकाले यसलाई रोक्न माग गरे । उनले केही समयअघि भारतमा धार्मिक प्रयोजनका लागि दुई शिला लगिएकोमा यसलाई रोक्दै भएका शिलाहरू संरक्षण गर्न माग गरे ।

सांसद गोविन्द नेपालीले कालीगण्डकीमा नदीजन्य पदार्थको उत्खनन गर्न नपाउँदा बाढी आएको र बाढीले कागबेनीमा क्षति गरेकाले नदीजन्य पदार्थ निकाल्ने व्यवस्थासहितको कार्ययोजना के छ भनी प्रश्न गरेका थिए । सांसद देवका पहारी त्रिपाठीले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा परेकाले यस्को असर कम गराउन आवश्यक पहल गर्न, प्रदेश सरकारले गरेका विकास निर्माणका काममा गुणस्तरको प्रश्न उठेको, स्थानीयस्तरमा समन्वय नगरी काम गरेको भन्ने गुनासो आएकाले यसमा ध्यान दिन माग गरिन् ।

सांसद पद्मा जिसी श्रेष्ठले नारायणी नदीमा आउने बाढीका कारण त्यसआसपासका मानिसलाई धेरै असर गरेको र गण्डक सम्झौता प्रमुख समस्या रहेकाले संघ सरकारसँग समन्वय गरे डुबानसँगै कटान र मानवीय क्षति कम गराउने काम गर्न के पहल भइरहेको छ भनी प्रश्न गरेकी थिइन् । अर्का सांसद भक्तबहादुर कँुवरले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, होमस्टे, एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि फर्म र एक कृषि रणनीतिक सडक निर्माणका लागि आवश्यक कार्यविधि निर्माण भयो भएन भनी प्रश्न गरेका थिए । 

सांसद भीमबहादुर कार्कीले औद्योगिक क्षेत्र निर्माणको काम के हुँदै छ र रहेका बस्ती के गर्ने भनी प्रश्न गरेका थिए । सांसद यशोदा रिमालले एक पालिका एक उद्योगग्राम स्थापना र युवालाई रोजगारी सिर्जना गर्ने सरकारको योजना के छ तथा हाल खेतीको सिजन रहेकाले किसानहरूलाई सहज तरिकाले मल पाउन के व्यवस्था गरिएको छ भनी प्रश्न गरेकी थिइन् । अर्का सांसद लक्ष्मणबहादुर पाण्डेले दुम्कीवास–विनय–त्रिवेणी सडकको काम के हुँदै छ भनी प्रश्न गरेका थिए । सांसद सीताकुमारी सुन्दासले बाढीपहिरो नियन्त्रणका लागि के हुँदै छ, जोखिमपूर्ण बस्ती सार्न के काम हुँदै छ भनी मुख्यमन्त्री पाण्डेलाई प्रश्न गरेकी थिइन् ।

मुख्यमन्त्री पाण्डेले यो नयाँ अभ्यास भएकाले यसलाई निरन्तरता दिनुपर्ने भन्दै आफूलाई सोधिएका प्रश्नहरूको जवाफ दिएका थिए । उनले कालीगण्डकीमा अवैध तरिकाले दोहन हुन नदिने र भएको भए रोक्ने, कालीगण्डकीबाट नदीजन्य पदार्थ निकाल्ने–ननिकाल्ने विषयमा सिंगो सदनले छलफल गरी हाम्रो आस्थामा आँच नआउने र भूगोलविद्हरूसँग सल्लाह गरी उपयुक्त तरिकाले निकास खोज्न सरकार तत्पर रहेको, जलवायु परिवर्तन डरलाग्दो अवस्थामा रहेकाले यसलाई रोक्न प्रभावकारी तरिकाले काम गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले नारायणी नदीको कटान रोक्ने काम प्रदेश सरकारको क्षमताभन्दा माथिको कुरा रहेकाले संघ सरकारसँग समन्वय गरेर जोखिम कम गर्न प्रदेश सरकार अघि बढेको, विभिन्न योजना कार्यान्वयन गर्न आवश्यक कार्यविधि बनाउने काम भइरहेको र अन्तिम चरणमा पुगेकाले मन्त्रिपरिषद्ले पारित गर्नुपूर्व प्रमुख प्रतिपक्ष दलका नेतासँग छलफल गर्ने बताए ।

औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिसँगै डिपिआर अन्तिम चरणमा पुगेको, निर्माण क्षेत्रमा रहेका, तर सरकारी जग्गामा बनेका संरचनाको क्षतिपूर्ति दिन सरकारले नसक्ने र उनीहरूलाई भूमि आयोगमार्फत व्यवस्थापन गरिने, किसानका लागि आवश्यक मल विगतमा भन्दा बढी प्रदेशका लागि आपूर्ति भएको र सोहीअनुसार व्यवस्थापन गरिएको, दुम्कीवास–विनय–त्रिवेणी सडक चालू आर्थिक वर्षमा निर्माणका लागि संघ सरकारले समन्वय नगरे प्रदेशका सबै सांसद साबेल–गैंची लिएर खन्न जाने बताए । 

महिनाको पहिलो साता एक घन्टा समय निर्धारण
गण्डकी प्रदेश सभाको गत २२ असारमा सम्पन्न बैठकले नयाँ प्रदेश सभा नियमावली, २०८० पारित गरेको थियो । नयाँ नियमावलीमा मुख्यमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महŒवपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले सामान्यतया प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घन्टा समय निर्धारण गर्ने व्यवस्था नयाँ गरिएको छ । 

See More On

सुझावित समाचार