लगातारकाे वर्षाले कञ्चनपुर र डडेल्धुरा जोड्ने दैजी-जोगबुढा सडक अवरुद्ध भएको छ। बर्सातले ठाउँठाउँमा पहिरो, कटानी, रूख ढलेर सडक अवरुद्ध भएपछि यहाँकाे यातायात दुई सातादेखि ठप्प छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टलाई निर्देशन दिएपछि अवरुद्ध सडक खुलाउने काम अघि बढेको छ। सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल)ले प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि दैजी–जोगबुढा अवरुद्ध सडक खुलाउने काम सुरु भएको बताए।
प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गसमेत शीघ्र खुलाउन, विपतमा उद्धारकाे तयारी तीव्र बनाउन प्रधानमन्त्री प्रचण्डले मातहतका निकायलाई निर्देशन दिएका छन्। कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्म झन्डै ४० किलोमिटर सडक ठाउँठाउँमा अवरुद्ध हुँदा उक्त क्षेत्रका स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन्।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं इन्जिनियर हेमराज भट्टले दैजी–जोगबुढा खण्डअन्तर्गत कञ्चनपुर खण्डमा अवरुद्ध सडक सफाइ गर्ने काम सुरु भएको बताए। ‘कञ्चनपुर खण्डको कुल २२ किलोमिटरमध्ये १३ किलोमिटर सडक सफाइ गरेका छौँ,’ उनले भने, ‘ताल क्षेत्रमा देखिएको एक किलोमिटर आजै सफा गर्छौँ।’
सूचना अधिकारी भट्टले कार्यालय प्रमुख धीरेन्द्र भट्टसहित प्राविधिक टोली फिल्डमै खटिएको बताए। ‘पूर्वाधार विकास कार्यालय कञ्चनपुर र डडेल्धुराले आ–आफ्नो खण्डमा एक्स्काभेटरसहितका साधन लिएर सडक खुलाउने काममा जुटेका छौँ,’ उनले भने, ‘हाम्रो जिल्लामा अवरुद्ध भएको सडक एक–दुई दिनमै नियमित सञ्चालन गर्न सक्छौँ।’ भीमदत्त राजमार्गको वैकल्पिक दैजी–जोगबुढा सडक सञ्चालन भएपछि डडेल्धुरा, कञ्चनपुरका स्थानीयले राहत पाउनेछन्।