पहिरोका कारण सातादेखि अवरुद्ध भीमदत्त राजमार्ग सुचारु गर्न सकस भएको छ । निरन्तर वर्षासँगै ससाना पहिरो र माटो खस्ने गरेकाले राजमार्ग निर्वाध सुचारु हुन सकेको छैन । पहिरोले सडक क्षतिग्रस्त भएको ठाउँमा नयाँ ट्रयाक खोलिएपछि केही सवारीसाधन पास गरिएका छन् । तर, वर्षाले ट्रयाक हिलाम्य भएर गाडी फस्न थालेपछि सोमबार दिनभरजसो राजमार्ग बन्द रह्यो ।
कैलालीको गोदावरी र बुढीतोलामा गत सोमबार राति पहिरो गएपछि राजमार्ग अवरुद्ध बनेको थियो । पहिरोले करिब चार सय मिटर सडकमा क्षति पुगेको छ । त्यसमध्ये करिब सय मिटर सडक पूरै क्षतिग्रस्त बनेको छ । सडक पूरै बगेको ठाउँमा ट्रयाक खोलिएपछि राजमार्ग आंशिक रूपमा सञ्चालन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार बेलुका र सोमबार मध्याह्नसम्म यात्रुवाहक र मालवाहक केही सवारीसाधन एकतर्फी ओहोरदोहोर गरेका छन् । हिलोमा गाडीहरू फस्न थालेपछि दिउँसोबाट भने राजमार्ग रोकिएको थियो । गाडी सञ्चालन रोकेर हिलोले गाडी फस्ने ठाउँमा तारजाली र ग्राभेल हाल्ने काम भइरहेको पहिरो पन्छाउने कार्यमा खटिएका सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर तारानाथ सिग्देलले बताए । ‘हिजो बेलुकीदेखि आज बिहानसम्म केही सवारीसाधन पार गराइयो । तर नयाँ ट्रयाक खोलिएको खण्डमा गाडी फस्न थालेपछि दिउँसोबाट राजमार्ग रोकेर तारजाली लगाउने र ग्राभेल गर्ने काम गरिरहेका छौँ,’ उनले भने, ‘वर्षासँगै हिलो माटो खस्ने क्रम नरोकिएकाले राजमार्ग सुचारु गर्न समस्या भइरहेको छ ।’
सोमबार अबेर बेलुकी पनि केही गाडी ओहोरदोहोर गराइएको सडक डिभिजनले जनाएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख होमप्रसाद सुवेदीले हिलोका कारण केही ठाउँमा समस्या भए पनि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको बताए । आइतबार बेलुकीदेखि सोमबार दिउँसोसम्म यात्रुवाहक र मालवाहक सवारीसाधन ओहोरदोहोर गरेका उनले बताए । ठूलो पहिरो गएको र करिब सय मिटर सडक बगेकाले दुईतर्फी रूपमा यातायात सञ्चालन गर्न भने समय लाग्ने सडक डिभिजनले जनाएको छ । ‘बर्खापछि मात्र दोहोरो यातायात सञ्चालन गर्न सकिएला,’ सुवेदीले भने, ‘पहिरो गएको ठाउँमा हिलो माटो खस्ने क्रम रोकिएको छैन ।’ सडक डिभिजनले पाँचवटा डोजर लगाएर राजमार्ग सुचारु गर्ने प्रयास गरिरहेको छ ।