सामाजिक सञ्जालबाट चिनजान : प्रलोभनमा फसेर घर छाड्ने बालिका बढ्दै

शनिबार, २७ साउन, २०८०
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय गुल्मीको आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रगति प्रतिवेदनअनुसार एक सय ३२ जना महिला तथा बालबालिका हराएका छन्। त्यसमा ३६ जना बालिका र १० बालक छन्। एक जेष्ठ नागरिक महिलासहित कुल ८६ महिला हराएकामा ११ महिला अझै फेला परेका छैनन्। खोजतलासको क्रममा हराएका सबै बालबालिका फेला परेर परिवारलाई बुझाएको प्रहरीले जनाएको छ।

हराउने बालकहरू बा–आमासँग झगडा गरेर सहरका होटेल र निर्माण स्थलहरूमा जाने गरेको पाइएको छ भने बालिकाहरू सामाजिक सञ्जालको चिनजानका आधारमा प्रलोभनमा फसेर भाग्ने गरेका छन्। प्रहरी कार्यालयबाट उपलब्ध विवरणअनुसार बालिकाहरू आफ्नै छिमेकी, जिल्लाकै विभिन्न स्थान र स्वदेश तथा भारतीय नागरिकको समेत जालमा पर्ने गरेका पाइएको छ।

घटना १ : पैसा नहुँदा जोगिए दुई बालिका
मालिका गाउँपालिकाका १४ र १५ वर्षीया बालिका २१ साउनदेखि सम्पर्कविहीन भएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा हुलियासहितको उजुरी दिए। उनीहरूका तस्बिर सामाजिक सञ्जालभर भए।

प्रहरीका अनुसार तीमध्ये एउटीको गाउँकै १७ वर्षीय किशोरसँग फेसबुक चिनजान थियो। भेटघाट र बिहे गर्ने योजनाका साथ तम्घासमा भेटघाट गरेका उनीहरू जिल्लाबाहिर जाने निर्णयमा पुग्छन्। तर, किशोर र बालिका दुबैसँग साथमा पैसा नहुँदा बजारकै एक होटेलमा चाउमिन र चाउचाउ खाएर बास बस्छन्।

सामाजिक सञ्जालभर आफूहरूको तस्बिर भएको पत्तो पाएपछि किशोर अर्जुनडाँडा पुगे। खोजतलासकै क्रममा किशोर र बालिका २२ साउनको बेलुकी १० बजे उपल्लो तम्घासमा फेला परे। २३ साउनमा प्रहरीले सम्झाइबुझाई गरेर बालिकालाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

घटना २ : घरबाट क्याम्पस हिँडेर युवासँग टाप
रेसुंगा नगरपालिकाकी १७ वर्षीया किशोरी १८ जेठमा रेसुंगा बहुमुखी क्याम्पस पढ्न घरबाट निस्कन्छिन्। तर, अबेरसम्म घर नफर्किएपछि किशोरीकी दिदीले हुलियासहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन्।

उनको पनि एक युवकसँग फेसबुक चिनजान थियो। किशोरी सोही युवकसँग तम्घासमा भेट भएर बुटवल हिँड्छिन्। प्रहरीले सिसिटिभी फुटेज र मोबाइल लोकेसनको आधारमा उनीहरूलाई गैँडाकोटमा फेला पारेर किशोरीलाई परिवारको जिम्मा लगाएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

घटना ३ : ५० भारतीयको जालमा १४ वर्षीया बालिका
चन्द्रकोट गाउँपालिकाकी १४ वर्षीया बालिका ३ वैशाखदेखि परिवारको सम्पर्कबाहिर रहिन्। परिवारले ५ वैशाखमा प्रहरीचौकी मजुवामा हुलियासहित उजुरी दियो।

खोज्दै जाँदा प्रहरीले मजुवा बजारमा पाउरोटी उद्योगमा काम गर्ने ५० वर्षीय भारतीय नागरिकले बालिकालाई फकाइफुलाई भारत लैजाँदै गरेको खुल्यो। तत्काल कपिलवस्तुको तौलिहवाबाट बालिकाको उद्धार गरेर अभिभावको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

घटना ४ : गाडी भाडासमेत पठाएर भारत बोलाइन्छन् बालिका
रेसुंगा नगरपालिकाकै १६ वर्षीया बालिकाको भारतमा रहेको एक युवकसँग फेसवुकमार्फत चिनजान भयो। युवकले बालिकालाई ललाइफकाई भारत बोलाए। उनले बालिकालाई पैसासमेत पठाए। पैसा निकालेपछि बालिकाले परिवारलाई केही नभनी २ साउनमा घर छोडिन्।

परिवारले हुलियासहित जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएपछि शान्ति पुनर्स्थापना गृहले बालिकालाई भारतीय नाकामा फेला पार्यो। प्रहरीले बालिकालाई परिवारको जिम्मा लगाएको छ।

विकराल बन्दै अवस्था : एसपी प्रधान
जिल्लामा बालिकाहरू घर छोडेर हिँड्ने समस्या विकराल बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले बालिका हराएका निवेदनहरू धेरै आउन थालेकाले प्रत्येक पालिकाहरूमा सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताए।

अभिभावकले आफ्नो बालबालिकाको सधैँ निगरानी गर्ने र सामाजिक सञ्जालको प्रयोगका विषयमा पनि सचेत रहन आग्रह गरे। सामाजिक सञ्जालको चिनजान र क्षणिक प्रलोभनका कारण घर छोड्ने बालिकाहरूको संख्या बढ्दै गएकाले ठूलो घटना हुनेतर्फ सचेत रहन उनको अनुरोध छ। ‘छोराछोरीको चालचलन ख्याल नगर्दा पछि पछुताउनुपर्छ। क्षणिकको बिहे, सहर, पैसा र भारत जाने प्रलोभनका कारण भाग्दा ज्यान नै जान सक्छ,’ उनले भने, ‘स्थानीय तहको समन्वयमा सचेतना जगाउनु आवश्यक छ।’ 

एसपी प्रधानले होटेलहरूमा आउने मान्छेको निगरानी बढाउन व्यावसायीहरूलाई आग्रह गरे। प्रधानले अपराधमा संलग्नहरू पनि होटेलमा बास बस्ने र बालबालिकाहरू पनि आउने भएकाले पैसाको लोभभन्दा सम्भावित शंका र सूचनाहरू लिई प्रहरी वा परिवारलाई खबर गर्ने तथा व्यावसायी आफैँले पनि बुझेर मात्रै वास दिन आग्रह गरे।

सुझावित समाचार