सन् १९८४ देखि सुरु भएको एसिया कपको ३१ अगस्टदेखि पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगिता १६औँ संस्करण हो । प्रतियोगितामा नेपालले पहिलोपटक स्थान बनाएको छ । एसिसी प्रिमियर कपको विजेता बन्दै नेपालले स्थान सुरक्षित गरेको थियोे । नेपाल एकदिवसीय विश्वकपकै पूर्वविजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’मा छ । नेपालले पहिलोपटक टेस्ट तथा विश्व च्याम्पियन राष्ट्रसँग खेल्ने अवसर पाएको छ । १७ सेप्टेम्बरसम्म चल्ने प्रतियोगितामा समूह ‘ए’का सम्भावित खेलाडी यस्ता छन् :
नेपाल
रोहितकुमार पौडेल
रोहितले कप्तानी जिम्मेवारी लिएको धेरै भएको छैन । कुशल कप्तानी गर्दै उनले नेपाललाई एकदिवसीय विश्वकपको ग्लोबल छनोटदेखि एसिसी इमर्जिङ कपसम्म छनोट गराए । ५२ एकदिवसीयमा रोहितले एक हजार चार सय ६९ रन बनाएका छन् । उनले एक शतक तथा आठ अर्धशतकीय इनिङ्स खेलेका छन् । पछिल्लो समय मध्यक्रमका विश्वासिलो ब्याट्सम्यानका रूपमा उनलाई लिने गरिन्छ । ५० ओभर फम्यार्टमा उनले ११७ चौका र २५ छक्का प्रहार गरेका छन् । २०१८ मा रोहितले नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए । एकदिवसीयमा उनी कम उमेरमा डेब्यु गर्ने छैटौँ खेलाडी हुन् ।
सन्दीप लामिछाने
अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा सन्दीप विश्वस्तरीय बलर हुन् । लेगब्रेक बलिङ गर्ने सन्दीपको एकदिवसीय क्रिकेटमा पनि स्तरीय प्रदर्शन गर्न सक्ने क्षमता छ । पछिल्ला केही इनिङ्समा उनले दोहोरो भूमिका निर्वाह गरेका थिए । नेपालले खेलेको पछिल्ला सिरिजमा सन्दीपले ब्याटिङमा स्ट्रोक लगाउँदै रन बटुल्ने र बलिङमा विपक्षी ब्याट्सम्यानलाई सहजै आउट पारेका थिए । हालै क्यानडामा भएको ग्लोबल टी–२० लिगमा उनको टोली उपविजेता बनेको थियो । सन्दीपले ४९ एकदिवसीयमा एक सय ११ विकेट लिएका छन् । उनी कम खेलमा ५० ओभरमा सय विकेट लिने पहिलो बलर हुन् ।
सोमपाल कामी
सोमपालले नेपाली टोलीमा लामो समयदेखि खेलिरहेका छन् । नेपाल आइसिसी विश्वकप डिभिजन लिग–५ विजेता बन्दा सोमपालले उत्कृष्ट बलिङ गरेका थिए । ४७ एकदिवसीय खेलमा उनले चार सय ७८ रन बनाएका छन् । यसक्रममा उनले दुई अर्धशतक बनाए । बलिङ मात्र नभई उनले ब्याटिङसमेत गर्न सक्छन् भन्ने यो प्रमाण हो । नेपालका प्रमुख फास्ट बलर सोमपालले ४७ खेलमा ६३ विकेट लिएका छन् । यसक्रममा उनले एकपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । २०१८ मा उनले नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए ।
कुशल भुर्तेल
कुशलले नेपालबाट डेब्यु गरेको धेरै भएको छैन । २०२१ मा उनले पपुवा न्युगिनीविरुद्ध डेब्यु गरे । ओपनिङ गर्दै बलियो सुरुवातको जिम्मेवारी सम्हालेका उनी पछिल्लो समय फर्ममा छैनन् । तर, फर्ममा रहँदा उनको स्ट्रोक प्रहार गर्ने शैली लोभलाग्दो छ । उनको कमजोरी क्रिजमा लामो समय टिक्न नसक्नु हो । क्रिजमा रहँदा उनले स्कोरलाई अगाडि बढाउने काम गर्छन् । ४४ एकदिवसीय खेलमा उनले ९ सय ८६ रन बनाएका छन् । यसक्रममा उनले एक शतक र ६ अर्धशतक बनाए ।
कुशल मल्ल
२०२० मा कुशलले अमेरिकाविरुद्ध डेब्यु गरेका थिए । नेपालले आइसिसी विश्वकप लिग–२ मा तेस्रो स्थानमा रहँदै ग्लोबल छनोट स्थान पक्का गर्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । बायाँहाते ब्याट्सम्यान कुशल लामो छक्का प्रहार गर्न सक्छन् । तर, सामना गरेको पहिलो बलदेखि नै स्ट्रोक लगाउने उनको रणनीति नै कमजोर पक्ष हो । धैर्यपूर्वक ब्याटिङ गरे कुशलले स्कोरलाई अगाडि बढाउन सक्छन् । २७ एकदिवसीय खेलमा उनले एक शतक र चार अर्धशतक बनाएका छन् । उनले ६ सय २६ रन जोडेका छन् ।
सम्भावित अन्य खेलाडी
दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, करण केसी, ललित राजवंशी, गुल्सन झा, प्रतिस जिसी, आरिफ शेख, अर्जुन साउद, देव खनाल, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।
पाकिस्तान
बाबर आजम
पाकिस्तानी कप्तान बाबर पछिल्लो समय विश्व क्रिकेटकै प्रतिभाशाली खेलाडी हुन् । विपक्षी टोलीका लागि उनी सधैँ घातक बन्छन् । उनको कप्तानीमा पाकिस्तानले धेरै उपलब्धि हासिल गरेको छ । एकदिवसीयमा उनले फरक प्रभाव राखेका छन् । २०१५ बाट एकदिवसीय क्रिकेट सुरु गरेका बाबरले सय खेल संख्या पार गरिसकेका छन् । अहिले पाकिस्तानी खेलाडीमध्ये सर्वाधिक रन बनाउने उनी एक्ला खेलाडी हुन् । ९८ इनिङ्स खेलेका २८ वर्षीय बाबरले पाँच हजार ८९ रन जोडेका छन् । दायाँहाते अग्रपंक्तिका ब्याट्सम्यान बाबरको उच्च स्कोर १५८ रन हो ।
इमान उल हक
२७ वर्षीय अनुभवी ओपनर इमान उल हक पाकिस्तानका अर्का प्रतिभावान खेलाडी हुन् । २०१७ डेब्यु गरेका उनले ५९ खेलमा दुई हजार सात सय १९ रन बनाएका छन् । करिअरमै उनले सर्वाधिक १५१ रन प्रहार गरेका छन् । उनको औसत रन ५१.३० छ । बायाँहाते ब्याट्सम्यानले श्रीलंकाविरुद्ध आबुधाबीमा डेब्यु गरेका हुन् । इमाम उल हकसँग दबाबबीच पनि लामो इनिङ खेल्ने क्षमता छ । त्यसले पनि उनी सधैँ ओपनरकै रूपमा मैदानमा उत्रन्छन् ।
मोहम्मद रिजवान
विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मदको आफ्नै विशेषता छ । ३१ वर्षीय टप अर्डरका ब्याट्सम्यान उनी पार्टटाइम स्पिनर पनि हुन् । २०१५ यता एकदिवसीय क्रिकेट खेल्दै आएका रिजवानले ५७ खेलमा एक हजार चार सय आठ रन बनाएका छन् । दायाँहाते ब्याट्सम्यानले सर्वाधिक ११५ रन बनाएका छन् । ५० ओभरको खेलमा उनले दुई शतक र ९ अर्धशतक बनाएका छन् । पछिल्लो समय रिजवान विश्व क्रिकेटका उत्कृष्ट विकेटकिपर र ब्याट्सम्यान मानिन्छन् ।
साहिन साह अफ्रिदी
२०२१ को आइसिसी टी–२० विश्वकपपछि अफ्रिदीको चर्चा ह्वात्तै बढ्यो । भारतविरुद्धको खेलले उनलाई विश्वले चिन्ने अवसर पायो । भारतविरुद्ध १० विकेटको सानदार जितमा उनले तीन विकेट लिएका थिए । उनकै प्रदर्शनमा पाकिस्तानले पहिलोपटक टी–२० विश्वकपमा भारतलाई हरायो । २३ वर्षीय बायाँहाते तीव्रगतिका बलर अफ्रिदीले पाकिस्तानका लागि ३६ एकदिवसीय खेल खेलेका छन् । उनले ७० विकेट लिएका छन् । ६.६ फिट अग्ला फास्ट बलर अफ्रिदीको उत्कृष्ट प्रदर्शन ६/३५ हो । पछिल्लो समय उनले पाकिस्तानी घरेलु प्रतियोगिता र सिनियर टोलीमा कीर्तिमान बनाएका छन् ।
नसिम साह
अफ्रिदीपछि पाकिस्तानी टोली बलिङतर्फ नसिम साहमा निर्भर छ । २० वर्षीय दायाँहाते तीव्रगतिका बलर साहले आफूलाई अन्तर्राष्ट्रिय खेलमा प्रमाणित गरिसकेका छन् । लिस्ट ए क्रिकेटमा उनले १५ वर्षमै डेब्यु गरेका थिए । उनले सन् २०२२ मा नेदरल्यान्डस्विरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । टेस्ट क्रिकेटमा उनले बंगलादेशविरुद्ध ह्याट्रिक विकेटको प्रदर्शन राखेका छन् । एकदिवसीय क्रिकेटमा आठ खेल खेल्दा उनले २३ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ५/३३ हो ।
टोलीका अन्य खेलाडी
सदाब खान (उपकप्तान), अब्दुल्लाह सफिक, फहिम अस्राफ, फकार जमान, हरिस रार्फ, इफ्तिकार अहमद, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद वासिम (जुनियर), सलमान अली अगाह, साउद सकिल, तयाब ताहिर र उस्मा मिर ।
भारत
रोहित शर्मा
एकदिवसीय क्रिकेटमा रोहितलाई क्लासिक ब्याट्सम्यान मानिन्छ । प्राविधिक रूपमा असाध्यै राम्रो खेल्छन् । क्रिजमा सेट भइसकेपछि उनलाई रोक्न विश्वस्तरीय बलरलाई हम्मेहम्मे हुन्छ । सन् २००७ मा आयरल्यान्डविरुद्ध डेब्यु् गरेका रोहितले अहिलेसम्म दुई सय ४४ एकदिवसीय खेलेका छन् । उनले ५० ओभरको फम्यार्टमा कीर्तिमानी रूपमा तीनपटक दोहोरो शतकीय इनिङ्स खेलेका छन् । ओपनिङ जिम्मेवारीमा उनले दुई सय ३७ इनिङ्समा नौ हजार आठ सय ३७ रन बनाएका छन् । यसक्रममा उनले १० हजार नौ सय ३३ बल खेले । एकदिवसीयमा ३० शतक तथा ४८ अर्धशतक बनाएका रोहितले करिअरमा नौ सय दुई चौका प्रहार गरेका छन् । आवश्यक पर्दा उनी पार्टटाइम बलर बन्छन् । ३८ इनिङ्समा उनले आठ विकेट लिएका छन् ।
विराट कोहली
भारतका पूर्वकप्तान विराट कोहली मध्यक्रममा वर्तमान समयकै उत्कृष्ट ब्याट्सम्यानमा पर्छन् । प्राविधिक रूपमा उनको ब्याटिङ उत्कृष्ट छ । आफूलाई सधैँ शतप्रतिशत फिट राख्छन् । विश्व क्रिकेटमा सचिन तेन्दुलकरपछि सर्वाधिक शतकीय इनिङ्स खेल्ने उनी दोस्रो खेलाडी हुन् । दायाँहाते ब्याट्सम्यान विराटले सन् २००८ मा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए । फर्ममा रहँदा उनको ब्याटबाट रनको वर्षा हुन्छ । सचिन, युवराज सिंह, वीरेन्द्र सेहवाग, गौतम गम्भीरको सन्न्यासपछि उनी चम्किए । उनले दुई सय ७५ खेलमा १२ हजार आठ सय ९८ रन बनाएका छन् । यसक्रममा उनले ४६ शतक तथा ६५ अर्धसतकीय इनिङ्स खेले । उनले ५० ओभरको फम्यार्टमा १२ सय ११ चौका र १३८ छक्का प्रहार गरेका छन् ।
हार्दिक पाण्ड्या
भारतीय टोलीमा हार्दिक ‘ट्रम्प कार्ड’ बराबरी हो । कठिन अवस्थाबाट आकर्षक स्ट्रोक लगाउँदै रनरेट उकास्ने र जिततर्फ उन्मुख गराउन सक्ने उनको खुबी हो । सामना गरेको पहिलो बलमै छक्का हान्न सक्ने क्षमता भएका हार्दिकले कम अवसरमा पनि आफूलाई प्रमाणित गरेका छन् । उनले ७७ खेलमा १० अर्धशतकको मद्दतमा एक हजार ६ सय ६६ रन बनाएका छन् । एकदिवसीय खेलमा उनको सर्वोत्कृष्ट इनिङ्स नै ९२ रन हो । ७२ इनिङ्समा उनले ७३ विकेट लिँदै आफूलाई अलराउन्डर प्रमाणित गरेका छन् । सन् २०१६ मा न्युजिल्यान्डविरुद्ध डेब्यु गरेका हार्दिकले एकदिवसीय खेलमा एक सय २५ चौका र ६५ छक्का प्रहार गरेका छन् ।
सूर्यकुमार यादव
सन् २०२१ मा श्रीलंकाविरुद्ध डेब्युपछि सूर्यकुमारले नियमित टोलीमा स्थान बनाएका छन् । प्राविधिक रूपमा कुशल सूर्यकुमार विपक्षीमाथि दबाब राख्दै ब्याटिङ गर्न रुचाउँछन् । २६ एकदिवसीय खेलमा उनले पाँच सय ११ रन जोडेका छन् । यसक्रममा उनले दुईपटक अर्धशतक बनाए । मैदानको चारैतिर स्ट्रोक लगाउन सक्ने क्षमता उनीसँग छ । दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सपछि वर्तमान समयमा ३६० कोणमा ब्याटिङ गर्न सक्ने ब्याट्सम्यानका रूपमा उनलाई लिने गरिन्छ । अहिलेसम्म तीनपटक नटआउट रहेका सूर्यकुमारले ११ छक्का र ५३ चौका प्रहार गरेका छन् ।
कुलदीप यादव
कानपुर एकेडेमीका उत्पादक कुलदीपले आफ्नो करिअर फास्ट बलरबाट अगाडि बढाए । प्रशिक्षकको सल्लाहअनुसार उनले शैली परिवर्तन गरे । अहिले बायाँहाते स्पिनरका रूपमा चिनिन्छ । ८४ एकदिवसीय खेलेका उनले २०१७ मा वेस्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए । इन्डियन प्रिमियर लिग र घरेलु क्रिकेट प्रतियोगितामा एकनासको प्रदर्शन गरिरहेका कुलदीप भारतीय टोलीमा नियमित खेलाडीमै पर्छन् । ८२ पटक बलिङ अवसर पाएका उनले एक सय ४१ विकेट लिएका छन् । यसक्रमा उनले एकपटक पाँच तथा ६ पटक चार विकेटको प्रदर्शन गरे । उनको इकोनोमी ५.१६ रन हो ।
सम्भावित अन्य खेलाडी
सुभमान गिल, रवीन्द्र जडेजा, लोकेश राहुल, मोहमद सामी, मोहमद सिराज, वासिङटन सुन्दर, शार्दूल ठाकुर, ईशान किसन, अक्षर पटेल, युजवेन्द्र चाहल र उमरान मलिक ।