कपन खहरे खोला खोल्नेबारे दुई स्थानीय तहबीच विवाद, फर्कियो महानगरको डोजर

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण
कपन खहरे खोला खोल्नेबारे दुई स्थानीय तहबीच विवाद, फर्कियो महानगरको डोजर

खहरे खोला खोतल्न कपन साततले पुगेको महानगरको डोजरलाई अवरोध गर्दै स्थानीय । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको कपनस्थित खहरे खोला क्षेत्र बिहीबार दिनभर तनावग्रस्त बन्यो । खहरे खोलालाई अवैध रूपमा ढलमा परिणत गरेको भन्दै महानगर प्रहरी बलको टोली उक्त ढल खोतल्न डोजरसहित पुगेको थियो । तर, बुढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई नेतृत्वको टोलीले समन्वयविना एक्कासि डोजर ल्याएको भन्दै विरोध गरेको थियो । जसका कारण डोजर खोलासम्म पुग्न सकेन । वडाध्यक्ष भट्टराईले डोजरको चाबीसमेत खोसेका थिए । 

काठमाडौं महानगरतर्फका स्थानीयले भने वडाध्यक्षले चाबी खोसेकोमा विरोध गर्दै तत्काल खोला खोतल्नुपर्ने मागसहित नाराबाजी गरेका थिए । जसकारण विवादले उग्र रूप लियो । यस विषयमा शुक्रबार थप छलफल गर्ने निर्णयपछि महानगरको डोजर दिउँसो ४ बजेतिर फर्किएको थियो भने साँझसम्मै उक्त क्षेत्र तनावपूर्ण रहेको थियो । 

काठमाडौं महानगर–७ का राजु संगतले खोलालाई खोलाकै रूपमा बग्न दिनुपर्ने बताए । ‘अहिले खोलालाई ढलमा परिणत गरिएको छ । खोलालाई खोलाकै रूपमा बग्न दिएर दायाँ–बायाँ करिडोर बनाउनुपर्र्छ । सामाखुसी खोलालाई खुला गरेजस्तै खहरे पनि खुलाउनुपर्छ,’ उनले भने, ‘महानगरतर्फ खोलाको मापदण्डअनुसार नै छाडिएको छ । बुढानीलकण्ठतर्फ मापदण्ड छाडेको छैन । विवादको खास कारण नै यही हो ।’ उनका अनुसार खोला मिच्ने काम करिब ३० वर्षअघिदेखि नै सुरु भएको हो । ‘हामी बाजे–बराजुदेखि यहाँ बस्दै आएका छौँ । र, पहिलेदेखि नै खोला मिचेको पनि देख्दै आएका छौँ । जुन काम गलत हो । अलि माथिबाटै महानगरबाट पनि खोला मिचेको छ । त्यसलाई पनि भत्काउनुपर्छ,’ उनले भने । 

बुढानीलकण्ठ नगरपालिका–१० का रामहरि सापकोटाका अनुसार महानगरतर्फ पनि खोला मिच्ने काम भएको छ । ‘यो समस्या समाधान गर्ने गरी संरचना बनिरहेको छ । माथि बाटो, तल खोला बग्ने गरी संरचना बनाउने ठेक्का लागेको छ । काम भइरहेका वेला काठमाडौं महानगरका मेयर बालेनले एक्कासि डोजर पठाए । त्यसैले विरोध गरेका हाँै,’ सापकोटाले भने, ‘महानगरतर्फ ३२ फिटको बाटो हुनुपर्ने मापदण्ड छ । तर, बाटो हुनुपर्ने ठाउँमा संरचना छ ।’ उनका अनुसार खहरे खोला भए पनि पहिला सानो थियो । बस्ती बढ्दै गयो । स्थानीयले यसैमा ढल हाल्दै गए । ६२ सालतिर पैसा उठाएर यहाँ ढल हालिएको हो । यहाँको समस्या समाधान गर्न बक्स हाल्न ठेक्का लागेको छ । ठेकेदारले तल खोला, माथि पुल बनाउने गरी ढुंगाको पर्खाल लगाइसकेको छ । तर, महानगरतर्फबाट बनाउन नदिने भनेपछि नगरपालिकापट्टि मात्रै पानी नअट्ने भयो । 

अर्की स्थानीय सुशीला भण्डारीले भने मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिइन् । ‘सबै मिलेर दिगो हिसाबले जानुपर्छ । यहाँ पहिला सानो खोल्सा थियो । बर्खामा अलि ठूलै पानी आउँथ्यो । अहिलेको जस्तो जताततै खोलो हिँड्दैनथ्यो । पोहोर त चार–पाँचवटा घर नै डुबायो । त्यसैले यसलाई समाधान त गर्नैपर्छ,’ उनले भनिन् । 

महानगरले जबर्जस्ती गर्न खोजेको आरोप 
बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी महानगरले विनासूचना जबर्जस्ती गर्न खोजेको आरोप लगाउँछन् । ‘महानगर पनि स्थानीय सरकार, हामी पनि स्थानीय सरकार नै हौँ । तर, महानगरले जबर्जस्ती गर्ने नीति लियो । समझदारीबेगर डोजर लिएर खोलो उखेल्न आए,’ मेयर अधिकारीले भने, ‘हिजोको खहरेमा सबै मिलेर ढल हालेकै हो । त्यसका लागि सरकारको बजेट पनि प्रयोग भएको छ । त्यसैले यो विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा भोलि नापी विभाग जान्छौँ । र, एउटा निष्कर्षमा पुग्छौँ । कसैलाई अन्याय गर्न भएन नि ।’

यो खोलामा गोकर्णदेखिको पानी आउने गरेको मेयर अधिकारी बताउँछन् । तर, अहिले कपनको सात तलेभन्दा माथि खोला नै देखिँदैन । महानगरको डोजर गएपछि मेयर बालेन साहसँग फोनमा कुरा गरेको उनको भनाइ छ । महानगरको वडा नम्बर ६ र ७ का जनप्रतिनिधिसँग पनि छलफल भएको उनले बताए । प्रमुख अधिकारीका अनुसार भोलि यो विषयमा थप छलफल हुने भएको छ । 

थप सरसल्लाह गरेर अघि बढ्ने महानगरको भनाइ
काठमाडौं महानगरले पनि छलफल नपुगेको स्वीकार गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सरसल्लाह नपुगेकाले नै विवाद भएको हो । शुक्रबार थप छलफलपछि काम अगाडि बढ्ने उनी बताउँछन् । साततलेस्थित खहरे खोला व्यवस्थापन नगर्दा महानगरपालिकाको वडा ६ र ७ तथा बुढानीलकण्ठको १० वडा क्षेत्र बर्सेनि बस्ती डुबानमा पर्दै आइरहेको छ । 

सुझावित समाचार