देशभर गत वर्षभन्दा यस वर्ष तीन लाख चार हजार हेक्टर कम जमिनमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार सातवटै प्रदेशमा हालसम्म १० लाख ५३ हजार हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षमा १३ लाख ५७ हजार हेक्टर जमिनमा रोपाइँ सम्पन्न भइसकेको थियो । अघिल्लो वर्ष साउनको १५ सम्म आइपुग्दा ९० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको थियो । तर, यो वर्ष ७७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले १३ प्रतिशत धान रोपाइँ कम भएको जनाएको छ । समयमै मनसुन सक्रिय नहुँदा र लम्पी स्किनको प्रभावले रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा ५९ प्रतिशत मात्र भएको छ । अघिल्लो वर्ष उक्त प्रदेशमा ८९ प्रतिशत रोपाइँ भएको थियो ।
सुदूरपश्चिममा करिब धान रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । मधेसमा साउनको अन्तिम महिनासम्म रोपाइँ हुने हुँदा करिब ८० देखि ८५ प्रतिशतसम्म रोपाइँ भइसक्ने अनुमान रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
कृषि विभागका महानिर्देशक हरिबहादुर केसीले जति ढिलो धान रोपाइँ भयो, उत्पादन पनि घट्ने बताए । उनले भने, ‘बिउ छिप्पिएको हुन्छ, मौसमदेखि सबै कुराले असर गर्दा उत्पादनमा प्रभाव पर्छ ।’
