जुम्लामा नुन अभाव छैन, १७ सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण
जुम्लामा नुन अभाव छैन, १७ सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ

फाइल तस्बिर

जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ। यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए। 

सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिँजाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख  प्रमुख मल्लले भने, ‘जिल्लामा नुनको अभाव हुने छैन। अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिनेछ। वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ।’

गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट  उपभाेक्तालाई नुन वितरण भइरहेको समयमा केही  व्यक्तिले भाँडभैलो गर्दै डिपोमा तोडफोडसमेत गरेका थिए। 

गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा  सदरमुकाम डिपोमा नागरिकको भिड लाग्ने गरेको कार्यालयले जनाएको छ। गत आव ०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ। यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए।

तिला गाउँपालिकाका नौवटै वडामा नुन ल्याउन कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडाबाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए। वडामै नुन ल्याउन साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला– १ का वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिए। 

सुझावित समाचार