सात नयाँ ब्रोकरले सुरु गरे सेयर कारोबार

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्जबाट लाइसेन्स पाएका सातवटा नयाँ ब्रोकर कम्पनीले सेयर खरिद–बिक्री सुरु गरेका छन् । बिहीबार सातवटा ब्रोकर कम्पनीले सेयर खरिद गरेर कारोबार आरम्भ गरेका हुन् । नयाँ ब्रोकर कम्पनीले कारोबार गरेसँगै १५ वर्षदेखिका ५० ब्रोकरले गर्दै आएको सेयर कारोबारको एकाधिकार तोडिएको छ ।

कारोबार आरम्भ भएसँगै ब्रोकरको संख्या ५७ पुगेको छ । नयाँ ब्रोकरमध्ये क्यापिटल म्याक्स सेक्युरिटिजले ६२ नम्बर, प्रोपर्टी विजार्डले ६७, हिमालयन ब्रोकरेजले ६३, भोले गणेश सेक्युरिटिजले ६१, सन सेक्युरिटिजले ६४, सेयरप्रो सेक्युरिटिजले ६५ र मियो सेक्युरिटिजले ६६ नम्बर भएर कारोबार गरेका छन् ।

नयाँ ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले औपचारिक रूपमा मात्र काम सुरु गरिएको र आइतबारबाट ठूलो संख्यामा कारोबार हुने बताए । नयाँ ब्रोकर कम्पनीहरूले साबिक ब्रोकरभन्दा प्राविधिक रूपले नयाँ गर्ने बताउँदै आएका छन् । कारोबार राफसाफदेखि व्यक्तिगत विवरणसम्म लगानीकर्तालाई सहजीकरण गर्ने नयाँ ब्रोकरहरूको अठोट रहँदै आएको छ । मियो सेक्युरिटिज प्रालिका सञ्चालक आशिष रानाभाटले बिहीबारको कारोबार ऐतिहासिक भएको र लगानीकर्ताको हकमा धेरै काम गर्ने तयारी रहेको बताए । उनले भने, ‘ठूलो संघर्षपछि लाइसेन्स पाएका छौँ, लगानीकर्ताले दिएको जिम्मेवारीलाई पूरा गर्छौै।’

नयाँ ब्रोकर एसोसिएनका अनुसार मार्जिन ल्यान्डिङदेखि ब्रोकरहरूले लगानीकर्ताका लागि नयाँ स्किम ल्याउने तयारी गरेको छ । नयाँ ब्रोकरले साना बालबालिकाका हकमा सीमित सेयर छुट्याएर विनाकमिसन कारोबार गराउनेलगायतका स्किम ल्याउने तयारी छ । धितोपत्र बोर्डबाट हालसम्म १८ ब्रोकर कम्पनीले लाइसेन्सको अनुमति पाएकोमा पहिलो चरणमा पाएकाले बिहीबारबाट कारोबार सुरु गरेका हुन् । नेप्सेबाट आशयपत्र (एलोआई) पाउने १० ब्रोकर कम्पनी रहेका छन् । नेपाल धितोपत्र बोर्डले आवेदन परेकामध्ये ४३ वटा ब्रोकर कम्पनीलाई आशयपत्र दिएको छ ।

 नयाँ स्टक एक्सचेन्ज नआउँदा नयाँ ब्रोकरलाई चुनौती
 धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर संख्या थप्ने धितोपत्रसम्बन्धी  नियमावली २०६४ लाई एकैपटक संशोधन गरेर मन्त्रिपरिषद्बाट पास गराएको थियो । तर, मन्त्रिपरिषद्ले नयाँ स्टक एक्सचेन्ज तत्काललाई रोकेपछि नयाँ ब्रोकरलाई चुनौती थपिएको हो । नयाँ स्टक आएसँगै कारोबारको संख्या बढ्ने र थप ब्रोकर चाहिने अनुमान थियो । तर, नयाँ स्टक नआउँदा अवश्य पनि हाम्रा लागि चुनौती भएको अध्यक्ष ढकालको भनाइ छ । उनले भने, ‘नयाँ स्टक आउँदा हामीलाई स्थापित हुन सहज हुन्थ्यो, तर ढिलोचाँडो आउँछ भन्नेमा विश्वस्त छौँ ।’ अहिले सेयर कारोबार बजारसँगै घट्दो क्रममा छ ।

पछिल्लो समय ६ महिनादेखि औसत तीन अर्बको कारोबार पनि हुन सकेको छैन । कतिपय ब्रोेकरहरू अहिले पनि घाटामा रहेको ब्रोकरहरूको दाबी छ । यस्तो अवस्थामा नयाँ ब्रोकरलाई स्थापित हुन चुनौती भएको एक ब्रोकरले बताए । तर, अहिलेको बजारलाई सेवाबाट प्रभावित बनाएर लगानी कारोबार आफूतिर तान्ने रणनीतिक योजनामा नयाँ  ब्रोकरहरू रहेका छन् ।

सुझावित समाचार