नयाँ ब्रोकर थपिँदा प्रतिस्पर्धी बन्छ बजार

पुँजीबजार कसैको एकाधिकारले होइन, सबैको हातेमालोले चलोस् भन्ने हाम्रो अपेक्षा थियो र छ

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

लगानीकर्ताको लामो संघर्ष र आन्दोलनपछि बैंक तथा वित्तीय संस्थाले ब्रोकर शाखाका रूपमा काम गर्ने अवसर आएको छ । पुँजीबजारको हकमा यसलाई ऐतिहासिक क्षणका रूपमा लिन सकिन्छ । हिजोसम्म एउटा सीमिततामा चलेको पुँजीबजारमा थप कम्पनीहरूको विस्तार हुँदा बजारलाई पक्कै पनि प्रतिस्पर्धात्मक बनाउँछ, यसमा दुईमत छैन ।

तर, नयाँ ब्रोकर शाखा थपिँदै गर्दा हाम्रो लागि नयाँ अवसरका साथै चुनौतीको पहाड पनि थपिएको छ । एक प्रकारको एकाधिकारलाई तोडेर हामी पनि लगानीकर्ताको हितमा पुँजीबजारलाई थप नयाँ ढंगले सेवा प्रवाह गर्न सक्छौँ भनेर आएका हौँ । त्यसलाई डगमगाउन दिनुहुन्न भन्ने हाम्रो मान्यता छ । पछिल्लो समय पुँजीबजारमा आकर्षण बढिरहेका वेला नयाँ शाखाका रूपमा ठूलो पुँजीका २० करोड रुपैयाँ सेयर कारोबार मात्र गर्नेको हकमा, मार्जिन कारोबार गर्न सक्ने गरी ६० करोड रुपैयाँ र धितोपत्र कारोबारसहितको नबिल सेक्युरिटिज एकल कम्पनी एक अर्ब ५० करोड रुपैयाँको पुँजीसहित आएको छ । यसले पुँजीबजारको दायरालाई त बढाउँछ नै, साथै पुँजीबजारको क्षेत्रमा नयाँ कोसेढुंगा साबित हुन पुगेको छ ।

नेपालको अर्थतन्त्रमा पुँजीबजारको योगदान महत्वपूर्ण छ । आजको बजारलाई नयाँ ब्रोकर र विगतका ब्रोकरको शाखालाई विस्तार गरी अहिलेका र थपिने लगानीकर्तालाई पनि केही नयाँपनको आभास हुने गरी काम गर्नुपर्छ । हामी मिलेर जान तयार छौैँ । पुँजीबजार कसैको एकाधिकारले होइन, सबैको हातेमालोले चलोस् भन्ने हाम्रो अपेक्षा थियो र छ ।

नयाँ साथीहरूले हामी आउँदै गर्दा स्वागत गर्नुहोला भन्ने थियो । तर, त्यस्तो नभएर हामीलाई गलत साबित गर्न सरकारका तीनवटै निकाय, कार्यपालिका व्यवस्थापिका र न्यायापालिका नै लागेर हाम्रो पुँजीलाई एक वर्षसम्म रोकेर राखियो । तर, लामो समयको रोकावट र यसबीचमा भएको राजनीतिक खेलले हामीलाई धेरै कुरा सिकाएको छ । एक वर्षको पर्खाइपछि असारभित्रै वा साउनको पहिलो हप्ताभित्र सातवटा ब्रोकर कम्पनीले कारोबार सुचारु गर्न थालिसक्नेछन् ।

समग्र पुँजीबजारको विकास विस्तार गर्न र नयाँ ब्रोकरका साथीलाई पनि यो हाम्रो बजार हो, सबै मिलेर जानुपर्छ र हाम्रो उद्देश्य भनेको मात्र प्रतिस्पर्धात्मक बजारको हो भनी त्यहीअनुसार बुझेर जानुपर्छ । यो बजारलाई विकास गर्न नयाँ ब्रोकर र पुरानो ब्रोकरबीच कुनै मतभेद राख्नुहुँदैन । हिजो हामी आउँदै गर्दा जुन प्रकारको मतभेद थियो, त्यसलाई त्यागेर जानुपर्छ । 

यस्तै, पुँजीबजारलाई विकास र विस्तार गर्नमा जति पुराना ब्रोकर साथीको योगदान छ, आगामी दिनमा हामी पनि त्यो योगदानमा सरिक भएर प्रतिस्पर्धात्मक बजारमा जान र लैजान चाहन्छौँ । सायद यो कुराको आभास हामी दुवै संगठनलाई भएको हुनुपर्छ । 

नयाँ र पुराना ब्रोकर, नाम होइन सेवा : अहिले हामी स्वाभाविक रूपमै नयाँ छौँ । तर, नयाँ पुरानो जे भए पनि नियामक निकायको नजरमा हामी धितोपत्र कारोबारी हौँ । हामीलाई लाग्ने कानुन एउटै हो, दिने सेवा एउटै हो । मात्र नयाँ लगानीकर्तालाई कति छिटो विश्वसनीयता दिलाउन सक्छौँ, त्यो मात्र महत्वपूर्ण कुरा हो । 

वेलावेलामा नियामक निकायले ब्रोकर कमिसन घटाउने कुरा गरेको सुनिन्छ । चाहेको खण्डमा उसले घटाउन पनि सक्छ । तर, कमिसन पनि कारोबारको हिसाबले छुट दिएर कारोबार गर्ने प्रावधान ल्याइनुपर्छ ।
 

अहिले नयाँ स्टक एक्सचेन्ज रोकिएको अवस्था छ । हाम्रो अपेक्षा नयाँ स्टकसँगै नयाँ ब्रोकर पनि सञ्चालनमा आएको भए पुराना वा नयाँ लगानीकर्ता दुवैलाई यसले थप सेवा पुर्याउँथ्यो । सरकारले तिर्ने राजस्वमा पनि टेवा पुग्ने थियो । नयाँ स्टक आएको भए स्टकको तर्फबाट गर्ने कुरा, ल्याउने प्रडक्ट, उसले जुन लेभलमा ल्याउने थियो, त्यसले पक्कै पनि बजार अर्कैै बनाउँथ्यो । 

नयाँ स्टक नआए पनि अहिलेकै नेप्सेले एक सय २० वटा ब्रोकर आवश्य छ भनेको छ । हाम्रो विगतको अध्ययन समितिले पनि त्यो देखाएको छ । अहिलेको नेपाल स्टक एक्सचेन्जमा पुनर्संरचना भइआएको खण्डमा बजार अझै राम्रो हुन सक्छ । यो कुरा पक्कै पनि सरकारले सोच्छ भन्ने विश्वास छ ।

नयाँ ब्रोकरप्रति लगानीकर्ताको अपेक्षा  :  नयाँ लगानीकर्ताले नयाँ ब्रोकर (हामी) प्रति ठूलो आशा र अपेक्षा राखेका छन् । त्यसलाई सम्बोधन गर्नुपर्ने अवस्थामा छौँ । सुरुका दिनमा अहिले जे प्रविधिको विकास भएको छ, त्यसकै अनुशरण गर्ने हो । बिस्तारै लगानीकर्ताको वैयक्तिक विवरणलगायत, कारोबार प्रणाली बैंकिङ प्रणालीबाट हुने कामलाई छिटो सम्बोधन गर्ने उद्देश्य राखेका छौँ । 

यसलाई अझ एकेडेमिक बनाउन अर्को प्रोडक्ट डेभलपमेन्ट गर्ने कुरामा पनि हामीले ध्यान दिनुपर्ने छ । मार्जिन ल्यान्डिङको कारोबारलाई पनि बिस्तारै सुरुवात गर्ने बैंकहरूसित एक प्रकारको सम्झौता गरेर कसरी लैजान सकिन्छ, त्यसमा छलफल गरी अगाडि बढ्ने योजना पनि हाम्रो छ । यसमा लगानीकर्तालाई दिने सेवालाई कसरी राम्रो बनाउन सकिन्छ, कसरी खुसी पार्न सकिन्छ जस्ता विषय छन् । 

हिजोजस्तो लगानीकर्तालाई कारोबार गरे गर नगरे नगर भन्न सक्ने अवस्था छैन । त्यसैले संस्थाले दिने सेवा हाम्रो पहिलो प्राथमिकता हो । चित्त नबुझे अब लगानीकर्तालाई विकल्प खुला भएको छ ।वेलावेलामा नियामक निकायले ब्रोकर कमिसन घटाउने भन्ने कुरा गरेको सुनिन्छ । चाहेको खण्डमा उसले हटाउन पनि सक्छ । तर, कमिसन पनि कारोबारको हिसाबले छुट दिएर कारोबार गर्ने प्रावधान ल्याइनुपर्छ । कुनै स्किममार्फत ब्रोकर कमिसन घटाउने हो भने लगानीकर्ता, ब्रोकर कम्पनी र सरकारलाई पनि सजिलो हुन्छ । साना बालबालिकाले गर्ने खालका सानो रकमको कारोबारलाई छुट दिनुपर्छ । त्यसलाई अहिलेको सेवाले कता–कता रोकेको जस्तो पनि देखिन्छ । 

पुँजीबजारको नीतिलाई तीन वर्षसम्म एउटै बनाउनुपर्छ : अहिलेको बजार घट्दो क्रममा छ । हिजो बजारले ऐतिहासिकता हालिस गरिसकेको छ । बजारमा सबै लगानीकर्ता आइरहेका छैनन् । सुस्त बसेका लगानीकर्तालाई तान्ने काम पनि नयाँ ब्रोकरको आगमनले गर्न सक्छ । नयाँ आउनेले पुरानोको बिजनेस खोस्ने भन्ने होइन । यसले नयाँ ‘क्रिएट’ पनि गराउँछ । 

सरकारको नीति र राष्ट्र बैंकले बजारलाई केही न केही असर गरेकै छ । हाम्रो नीतिमा अलिकति स्थिरता हुन सकिरहेको छैन । कम्तीमा पुँजीबजारको नीतिलाई दुई वा तीन वर्ष चलाउनुहुँदैन । हाम्रो नीति बजार तीव्र गतिले बढ्यो भने रोक्ने र बजार घट्यो भने फेरि नीति परिवर्तन गरिहाल्ने परिपाटीलाई परिवर्तन गर्नुपर्छ । बजारलाई नै बजारको भ्यालु छोड्नुपर्छ । समीक्षा गर्दा पनि करिब तीन वर्षपछि समीक्षा गर्ने हो भने बजारलाई राम्रो गर्छ । नीतिको फेरबदलले दीर्घकालीन रूपमा पुँजीबजारलाई कतै पुर्याउँदैन । 

शाखा विस्तार एजेन्सीमार्फत जानुपर्छ : नयाँ शाखा विस्तार गरेका पुराना ब्रोकर कम्पनीहरू शाखा विस्तारमा अप्रेसन कस्ट बढेको भन्नुहुन्छ । यसलाई अब नयाँ ढंगबाट अर्थात् एजेन्सीमार्फत लैजानुपर्छ । इस्योरेन्समा एजेन्सी मोडलमा दिएजस्तो । बैंक ग्यारेन्टीचाहिँ कुनै एउटा संस्थालाई दिने । सबै जिम्मा एजेन्सीले लिन्छ र त्यसैले कारोबार गर्छ । व्यक्ति आफैँले उद्यमी भएर काम गर्न चाहनेलाई अवसर पनि प्राप्त हुन्छ । संस्थालाई कमिसन दिने र सुचारु गर्ने यो मोडलमा गयो भने सबै ठाउँमा पुग्न सकिन्छ र यसमा जोखिम पनि कम हुन्छ । यसलाई दिर्घकालीन रूपमा लैजानुपर्ने देखिए पनि तत्काललाई भने हामी देशभित्रका मुख्य सहरमा जानुपर्छ भन्नेमा छौँ ।

चल्न नसके मर्जरमा जान्छौँ :  हामीलाई खुला बजारमा प्रवेश गरेर कारोबार गर्न र नसके बाहिर निस्कन सक्ने प्रावधान दिइएको छ । त्यसैले ओपन इन्ट्र्री र ओपन एक्जिट राखेको अवस्थामा नयाँ चलेर पुरानालाई अप्ठ्यारो पर्न पनि सक्छ । पुराना बढेर नयाँलाई संकटमा पार्न पनि सक्छ । यसको मुख्य कुरा भनेको लगानीकर्तालाई दिने सर्भिस नै हो । मार्केट सबैको हो । हामीले कसरी काम गरेका छौँ भन्ने कुरा मुख्य हो । 

अहिलेको मार्केटमा पनि सबैले एकै हिसाबले कारोबार गरेका छन् भन्ने छैन । सेवाअनुसार लगानीकर्ताले पनि कमाइरहेका छन् । भोलि पुँजीका हिसाबले मर्जरमा जाने भन्ने एउटा विषय होला । तर, सर्भिसको हिसाबले पुँजी जोडिँदा त्यसको फाइदा लगानीकर्ता र कम्पनीलाई जान्छ । यसो हुँदा थप सेवा प्रवाह गर्न पनि सकिन्छ । ब्रोकर टिक्न सक्छ भने गर्दा नराम्रो हुने होइन । तर, तत्काल मर्जरमा गइहाल्ने भन्ने कुराको अनुमान गरिहाल्नु हतार हुन सक्छ । त्यसका लागि कानुनले दिएका थुप्रै विकल्प हामीसँग छन् । मर्जरमा जानु भनेको थप सेवा विस्तार बढ्नु हो । यसरी बुझ्दा अन्यथा हुँदैन । 
(ढकाल न्यु ब्रोकर एसोसिएसनका अध्यक्ष हुन्)

सुझावित समाचार