सरकारी छाप किर्ते गरी ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको अभियोगमा सिआइबीले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । घटनामा ४०६ प्रतिवादीविरुद्ध पक्राउपुर्जी जारी भएको छ । यसमा अख्तियारले पनि अनुसन्धान गरेको थियो । अख्यितारले १७५ प्रतिवादीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
जुन मुद्दा हाल अदालतमा विचाराधीन छ । सोही मुद्दामा संलग्नमध्येका ८१ प्रतिवादीविरुद्ध मंगलबार अदालतमा तारेख तोकिएको थियो । जसमध्ये ६८ प्रतिवादीले अदालतबाट तारेख बुझेका छन् । आठ प्रतिवादीले कानुन व्यवसायीमार्फत तारेख बुझेका छन् भने बाँकी ६० प्रतिवादी सशरीर उपस्थित भएर तारेख बुझेका छन् ।
१३ प्रतिवादी भने मंगलबार ५ बजेसम्म पनि तारेख बुझ्न अदालत आएका थिएनन् । विशेष अदालतका प्रवक्ता नारायणप्रसाद भट्टराईले ललितानिवास भ्रष्टाचार मुद्दाका प्रतिवादीको मंगलबार तारेख रहेको र अपराह्न ४ बजेसम्म अधिकांश प्रतिवादी तारेख बुझ्न अदालत आएको बताए ।
‘ललितानिवास जग्गा भ्रष्टाचारसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन छ । मुद्दाका प्रतिवादीविरुद्ध आज तारेख थियो । अपराह्न ४ बजेसम्म अधिकांश प्रतिवादी अदालतमा आएका छन् । केहीले भने कानुन व्यवसायीमार्फत तारेख बुझेका छन्,’ उनले भने । विजयकुमार गच्छदार, जीतबहादुर थापा, अंगुर सिग्देल, शंकर सुवेदी, छविराज पन्त, कमल घिमिरे, देवबहादुर लामिछाने, भरतचन्द्र अर्याल, दीप बस्न्यात, प्रेमबहादुर खापुङ, हुपेन्द्रमणि केसी, हरिकृष्ण तिमिल्सिना, प्रकाशनारायण भट्ट, बालकृष्ण श्रेष्ठ र सुरोजराज राजकर्णिकारले तारेख बुझेका छन् ।
भूमिसुधारका पूर्वमहानिर्देशक श्रेष्ठसहित चार पक्राउ
बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिनामा संलग्न थप चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठ, भवन मर्मत सम्भार डिभिजन कार्यालय काठमाडौंका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर बालकृष्ण श्रेष्ठ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वनासु योगराज पौडेल र पूर्वखरिदार नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो ।
रुद्रकुमार र बालकृष्ण ०६६/६७ मा विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा २५ रोपनी जग्गा हिनामिनामा संलग्न कर्मचारी हुन् । उनीहरूविरुद्ध यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । मालपोतका कर्मचारीद्वय पौडेल र मिश्र भने ०४९ मा सुवर्णशमशेर राणाका परिवारलाई एक सय १२ रोपनी जग्गा फिर्ता दिने प्रक्रियामा सहभागी हुन् । अधिग्रहण भएको जग्गालाई जफत भएको भनेर गलत व्याख्या गरी मालपोत कर्मचारीले जग्गा फिर्ता गरिदिएका थिए ।
यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । सिआइबीले संगठित अपराध र लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्रीनिवाससँगैको एक सय ४३ रोपनी जग्गा हिनामिनामा चारवटा मुद्दा दायर गर्ने प्रहरी तयारी छ । जसमा तीन सयभन्दा धेरै व्यक्तिको मिलेमतो रहेको सिआइबी निष्कर्ष छ ।