नेकपा विभाजनको समीक्षामा शीर्ष नेता

वाम एकतामा एमाले, माओवादी र एकीकृत समाजवादीका नेताको जोड

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

शीर्ष कम्युनिस्ट नेताहरू तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको समीक्षा गरेर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले नेता अमृतकुमार बोहोराले विगतको समीक्षा गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशीको ३४औँ स्मृति दिवसको सन्दर्भमा भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा प्रचण्ड, नेपाल र बोहोराले वाम एकतामा जोड दिए । केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्ने बताएका थिए ।

प्रचण्डले विश्वभरिकै कम्युनिस्ट इतिहास एकता, संघर्ष, विभाजन, फेरि रूपान्तरण, फेरि एकता, फेरि संघर्षबाट गुज्रिँदै अगाडि बढेको स्मरण गरे । नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अगाडि बढेको उनको भनाइ थियो । ‘आज हामीले फेरि एकपटक विचार गर्नुपरेको छ । चिन्तन गर्नुपर्यो– हिजो के कारणले एकीकृत भएको कम्युनिस्ट आन्दोलन बच्न सकेन ? विचारमा कहाँ त्रुटि थियो ? राजनीतिमा कहाँ त्रुटि थियो ? आचरण र संस्कृतिमा कहाँ त्रुटि थियो ? भावनामा कहाँ त्रुटि भयो ? के प्रवृत्तिका कारण हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को हामीले गर्नुपर्छ,’ उनले भने ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताए । राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने बताए । ‘जनताको जीवनलाई सुखी बनाउने, समृद्ध बनाउने, समानता, अवसर, रोजगारीको हिसाबले जनताले शिर ठाडो बनाउने गरी काम गर्नुपर्नेछ,’ उनले भने, ‘यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिस्ट पार्टीले नै गर्नुपर्नेछ ।’  

एमाले नेता अमृत बोहोराले वामपन्थी शक्ति मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘कम्युनिस्ट जनमत राम्रो छ । तर, हामी विभाजित अवस्थामा छौँ । विभाजित भएर हामीले कार्यभार पूरा गर्न सक्दैनौँ । आजको दिनले कम्युनिस्ट पार्टीलाई एक ठाउँमा उभिने शक्ति प्रदान गरोस्,’ उनले भने । 

गत आइतबार एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा तत्कालीन नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्ने आवश्यकता औँल्याएका थिए । उनले भनेका थिए, ‘अढाई वर्षअघि पार्टी विभाजन भयो, त्यो विभाजन हुँदा यसले यसो भन्यो, यसो गर्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारण के थिए ? उद्देश्य के थिए ? किन विभाजन भयो ? ती कुरा आउनुपर्छ । त्यसमा आन्तरिक कारण कति थियो, बाह्य कति ? स्वचालित कति थियो ? परिचालित कति थियो ? रिमोट कन्ट्रोल कति थियो,  यी सबै कुराको हामीले यथार्थ विश्लेषण गर्नुपर्छ ।’

सुझावित समाचार