प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले निर्वाचन कार्यालय हटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिबद्धता विनियोजन शीर्षकमा समावेश गर्न माग गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो। 

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने निर्णय विनियोजन शीर्षकमा समावेश नगरी संसद् बैठक अघि बढ्न नदिने अडान लिएपछि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर अवरोध गरेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि अर्थमन्त्रीको सो प्रतिबद्धता समावेश गरेर मात्रै बजेट पास गर्नुपर्ने अडान लिएका थिए।

यता, सत्तारूढ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने त्यसमा आफ्नो पार्टीको पनि सहमति रहेको उल्लेख गर्दै मन्त्री महतलाई जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने प्रतिबद्धताका जनाउन लगाएर संसद् सञ्चालन गराउन उपयुक्त हुने सुझाव सभामुख देवराज घिमिरेलाई दिएका थिए। 
 

सुझावित समाचार