हिमाली जिल्ला डोल्पाका आठ स्थानीय तहमध्ये पाँचवटाले आउँदो आर्थिक वर्ष ०८०/८१ का लागि बजेट ल्याएका छन्।
डोल्पाको ठुलीभेरी नगरपालिका, मुड्केचुला गाउँपालिका, शे–फोक्सुन्डाे गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाले १० असारमै बजेट ल्याएका हुन्।
अन्य तीनवटा स्थानीय तह त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला र काइके गाउँपालिकाले भने बजेट ल्याउन सकेका छैनन्।
त्रिपुरासुन्दरी नगरपालिकाले असार १० मै बजेट ल्याउने तयारी गरे पनि नगरप्रमुख जनचन्द्र रोकायलाई पुत्रशोक परेका कारण नगरसभा सरेको बताइएको छ। त्यस्तै, काइके गाउँपालिकाले १२ असारमा बजेट ल्याउँदै छ।
उता जगदुल्ला गाउँपालिकाले १० असारमै बजेट प्रस्तुत गरे पनि गाउँसभामा भएको विवादका कारण बजेट अनुमोदन हुन नसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए।
बजेट ल्याएका पाँचवटा स्थानीय तहमध्ये आउँदो आर्थिक वर्ष ०८०/८१ का लागि मुड्केचुला गाउँपालिकाले ३६ करोड ३५ लाखबराबरको बजेट ल्याएको छ।
त्यस्तै, ठुलीभेरी नगरपालिकाले ४८ करोड दुई लाख २३ हजार दुई सय ४२ रुपैयाँकाे बजेट ल्याएको छ। उपल्लो डोल्पाको छार्काताङ्सोङ गाउँपालिकाले असार १० गतेकै गाउँसभाबाट २७ करोड ३० लाख ६७ हजारबराबरको बजेट ल्याएको छ।
त्यस्तै, फोक्सुन्डाे गाउँपालिकाले असार ५ गते नै गाउँसभाबाट ३२ करोड ९२ लाखबराबरको बजेट अनुमोदन गरेको छ।
डोल्पोबुद्ध गाउँपालिकाको गत असार ८ गते सम्पन्न गाउँसभाले २८ करोड ९६ लाख ९० हजार ६ सय ४९ रुपैयाँबराबरको बजेट ल्याएको छ।