संसदभित्रै बेथिति हेरिरहँदा लज्जाबोध भएको छ : सांसद ढकाल

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद् भवनभित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसद् सचिवालयका कर्मचारीलाई खाजा भत्तासमेत हुने, तर १२ घन्टा काममा खटिने मर्यादापालकको एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताए।

उनले संघीय संसद् सचिवालयमा छानो टाल्न र डिप बोरिङका लागि निकासा भएको रकम कामै नगरी भुक्तानी भएकाे उल्लेख गर्दै त्यसको छानबिन गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे।

‘बेथितिका कुराहरू गरिरहँदा मित्रराष्ट्र चीन सरकारले बनाइदिएको यो बिल्डिङ सहरी विकास मन्त्रालयअन्तर्गत पर्दछ । यो बिल्डिङको बेथितिको कुरा उठाउँदै छु । सहरी विकास मन्त्रालयबाट छानो टाल्नलाई बजेट आउँदोरहेछ, यो वर्ष पनि पानी चुहिन्छ । यही कम्पाउन्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ । पानी आउँदैन, भुक्तानी भएछ । यहीँभित्र संसद् सचिवालयका कर्मचारीहरूको खाजाभत्ता छ। मर्यादापालक दाजुभाइ, दिदीबहिनीहरूको १२ घन्टासम्म यहाँ ड्युटी गर्नुहुन्छ । उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन। यो विभेद, यहीँभित्र भएको विभेद, बेथिति, आँखाअगाडिको यो बेथिति हेरिरहँदाचाहिँ लज्जाबोध हुन्छ,’ सांसद ढकालले भने।

उनले संघीय संसद् भवनभित्र आफ्नो आँखाअगाडि भइरहेको बेथिति र विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए।

सुझावित समाचार