इन्टरनेसनल, नेसनल र पब्लिक शब्द हटाउँदै संस्थागत विद्यालय
काठमाडौं महानगरपालिकाको निर्देशनपछि निजी (संस्थागत) विद्यालयहरूले धमाधम नाम परिवर्तन गर्न थालेका छन् । महानगरको विद्यालय शिक्षा व्यवस्थापन निर्देशिका, ०७४ अनुसार विद्यालयहरूले ‘इन्टरनेसनल, नेसनल र पब्लिक’ शब्द जोड्दा विद्यार्थीलाई दिनुपर्ने सेवासुविधा दिन नसकेपछि नाम नै सच्याउन थालेका हुन् ।
निर्देशिकाअनुसार स्कुलको नाममा ‘इन्टरनेसनल’ शब्द जोड्दा उनीहरूले विभिन्न मापदण्ड पालना गर्नुपर्छ । तर, संस्थागत विद्यालयले नाम मात्रै झुन्ड्याएर विद्यार्थीलाई दिनुपर्ने सुविधा नदिएको पाइएपछि महानगरले यसलाई कडाइ गरेको थियो । महानगरका मेयर बालेन्द्र साहले एक महिनाअघि मापदण्ड पालना गर्न निर्देशन जारी गरेका थिए । यसपछि अधिकांश विद्यालयले उक्त मपदण्ड पालना गर्न नसक्ने भन्दै विद्यालयको नाम नै सच्याएका छन् । केही विद्यालयले अझै पनि अटेर गरिरहेका छन् ।
निर्देशिकाअनुसार कुल विद्यार्थीको एकतिहाइ विदेशी विद्यार्थी अध्यापन गराउने भए मात्रै ‘इन्टरनेसनल’ शब्द जोड्न पाइन्छ । तर, विद्यार्थी तान्न र विदेशीसहरको जस्तै शिक्षा दिने बहानामा ‘इन्टरनेसनल’ झुन्डाइराख्न पाइँदैन । यस्तै, विद्यालयको नामको पछाडि ‘नेसनल’ शब्द जोड्न कम्तीमा पनि २५ जिल्लाका विद्यार्थी अध्ययनरत हुनुपर्छ । निर्देशिकाले यदि कुनै स्कुलले ‘पब्लिक’ शब्द जोड्छ भने त्यहाँ पढ्नेमध्ये कम्तीमा एकतिहाइले छात्रवृत्तिमा पढेको हुनुपर्छ ।
निर्देशिका पालना गर्न झन्झट हुने भएपछि निजी विद्यालयहरू उक्त शब्दहरू नै हटाउन थालेका हुन् । यही क्रममा चुच्चेपाटीस्थित प्राक्सिक इन्टरनेसनल स्कुल, कालिमाटीस्थित एमइटी विथ कोएजुकेसन विद्यालय’ कालिमाटीकै क्रिस्टल इन्टरनेसनल एकेडेमी, कोटेश्वरको भ्याली भ्यु इन्टरनेसनल स्कुललगायतले ‘इन्टरनेसनल’ शब्द हटाएका छन् । महानगरपालिका शिक्षा विभागका अनुसार महानगरभित्र संस्थागत विद्यालय पाँच सय चारवटा छन् । यसमध्ये तीन सयभन्दा बढी विद्यालयले नाम सच्याइसकेका छन् भने केही विद्यालय सच्याउने तयारीमा छन् ।
पुससम्ममा नाम सच्याउन सकिने
काठमाडौं महानगरको निर्देशनपछि धेरैजसो विद्यालयले होर्डिङ बोर्ड र डिस्प्लेमा नाम सच्याइसकेका छन् । तर, कागजात तथा प्रशासनिक रूपमा सच्याउन कम्पनी रजिस्ट्रारको कार्यालयमै जानुपर्छ । त्यसकारण उनीहरूलाई आगामी पुससम्म मौका दिइएको महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए ।
उनका अनुसार यस्ता नाम राखेका सबै विद्यालयले पुस मसान्तसम्म नाम सच्याउनुपर्नेछ । त्यसपछि महानगरले अनुगमन गरेर कारबाही गर्नेछ । ‘आगागी पुससम्मका लागि मौका दिएका छौँ, अहिले नै आधिकारिक रूपमा नाम सच्याउँदा प्रशासनिक समस्या हुने भएपछि थप समय दिएका हौँ,’ उनले भने, ‘तर, धेरैजसो विद्यालयले होर्डिङ बोर्ड, डिस्प्लेमा नाम परिवर्तन गरिसक्नुभएको छ ।’ उनका अनुसार केही विद्यालयले कम्पनी रजिस्ट्रारको कार्यालयमै पुगेर नाम सच्याइसकेका छन् । यसबाहेक केही विद्यालय मापदण्ड पालनातर्फ पनि लागेका छन् । निर्देशिका पालना गरे नाम सच्याउनु पनि पर्दैन ।
सीताराम कोइराला, महानगरका शिक्षा विभाग प्रमुख
मापदण्डअनुसार काम गर्न आगामी पुससम्मका लागि मौका दिएका छौँ, अहिले नै आधिकारिक रूपमा नाम सच्याउँदा प्रशासनिक समस्या हुने भएपछि थप समय दिएका हौँ । धेरैजसो विद्यालयले होर्डिङ बोर्ड, डिस्प्लेमा नाम परिवर्तन गरिसक्नुभएको छ । केही विद्यालयले कम्पनी रजिस्ट्रारको कार्यालयमै पुगेर नाम सच्याइसकेका छन् । यसबाहेक केही विद्यालय मापदण्ड पालनातर्फ पनि लागेका छन् । निर्देशिका पालना गरे नाम सच्याउनु पनि पर्दैन ।
विनादर्ता सञ्चालित दुई अस्पतालमा ताला
काठमाडौंको बौद्धमा रहेको चाइनिज पिपुल्स अस्पताल र कोटेश्वरको जडीबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवं बर्थिङ सेन्टरमा महानगरले ताला लगाएको छ । दुवै अस्पताल दर्ताविनै सञ्चालन भइरहेको फेला परेपछि महानगरको नगर प्रहरीले सोमबार ताला लगाएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार ०६५ सालदेखि सञ्चालनमा रहेको उक्त अस्पतालले कानुनविपरीत काम गरेकाले कारबाही गरिएको हो । ‘हामीले पटक–पटक नियममा आउन निर्देशन दिएका थियौँ, तर उहाँहरू आउनुभएन, त्यसपछि ताला लगाउन बाध्य भयौँ,’ उनले भने, ‘दर्ता नै नगरी अस्पताल कसरी चलाउन पाइन्छ ?’ उनले अब नियममा आएपछि मात्रै अस्पतालमा लगाएको ताला खोलिने जानकारी दिए । सोमबार महानगरको स्वास्थ्य विभाग, नगर प्रहरीलगायतको टोली पुगेर अस्पतालमा ताला लगाएको हो । अस्पतालमा ताला लगाउने वेला बिरामी खासै नभएको पाण्डेको भनाइ छ ।