कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

स्ववियु निर्वाचनमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्नुपर्ने भन्दै जनमत विद्यार्थी संघले सूर्यनारायण सत्यनारायण मोरबैता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसहितका प्रध्यापकहरूलाई थुनेकाे छ।

क्याम्पस प्रशासनको कार्यकक्षमा रहेका क्याम्पस प्रमुख रामहित यादव, सहायक क्याम्पस प्रमुख ब्रह्मदेव यादव, प्रशासन प्रमुख प्रदीप यादव र निर्वाचन समितिका सदस्य देवशंकर यादवलाई जनमत विद्यार्थी संघले थुनेका छन्। 

गत चैत ५ मा भएको स्ववियु निर्वाचनमा आफूहरू निर्वाचित भए पनि अढाइ महिनाभन्दा बढी भइसक्दा प्रमाणपत्र वितरण र स्ववियुको कार्यकक्ष हस्तान्तरण नगरेको भन्दै कार्यकक्षमा थुन्न बाध्य भएको जनमत विद्यार्थी संघबाट स्ववियु सभापतिमा निर्वाचत दीपेन्द्रकुमार यादवले बताएका छन्।

अढाइ महिनादेखि प्रमाणपत्र र स्ववियु पदाधिकारी बस्ने कार्यकक्षको निम्ति आग्रह गर्दा बेवास्ता भएपछि तालाबन्दीमा उत्रिनुपरेको सभापति यादवले बताएका छन्।

यता नेविसंघ, विद्यार्थी फोरमलगायतले निर्वाचनमा धाँधली भएको भन्दै आन्दोलनमा छ। जसले गर्दा क्याम्पसमा पटकपटक तालाबन्दी हुने गरेको छ। क्याम्पस प्रमुख रामहित यादवले सवै विद्यार्थी संगठनलाई वार्ताबाट सहमतिमा आउन आग्रह गरे पनि सहमति हुन नसकेको बताएका छन्। 

निर्वाचनको परिणाम घोषणा भएपछि अरू विद्यार्थी संगठनको अवरोधको कारणले प्रमाणपत्र हस्तान्तरणमा ढिलाइ भइरहेको भन्दै क्याम्पस प्रमुख यादवले क्याम्पसको हितलाई ध्यानमा राख्दै विद्यार्थी संगठन अगाडी बढ्नुपर्ने र समस्या समाधान गर्नुपर्ने बताएका छन्।

नेविसंघका क्याम्पस इकाइ सभापति नवरत्न साहले स्ववियु निर्वाचनमा फर्जी विद्यार्थी फेला परेको र क्याम्पस प्रशासनको मिलोमतोमा जनमत विद्यार्थी संगठन निर्वाचित भएको दाबी गर्दै छानबिन गर्न माग गरिरहेको बताए।
 

See More On

सुझावित समाचार