अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको दाबी गरेका छन्।
कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले आज बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढंगले बजेट निर्माण भएको दाबी गरेका हुन्।
‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोटका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ,’ उनले भने।
अर्थमन्त्री डा. महतले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पारे। ‘हाम्रा आकांक्षा धेरै छन्, तर स्रोत र साधन सीमित छन्, भएका स्रोत–साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ,’ उनले भने।
कांग्रेसका प्रवक्तासमेत रहेका डा. महतले पार्टीभित्र अनुशासन जरुरी रहेको बताए। पार्टीभित्र एक–अर्काप्रति आदर र सम्मान गर्ने परिपाटी राख्नुपर्ने उनको भनाइ थियो।
कांग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने बताउँदै उनले पार्टीभित्र छलफल गरी निष्कर्ष निकालेर बाहिर एक स्वरका साथ जानुपर्नेमा जोड दिए।