मिर्गौलाको पत्थरीबाट बच्ने उपाय

मंगलबार, १६ जेठ, २०८०
डिजिटल संस्करण

पिसाबमा रहेका विभिन्न विकार र खनिज पदार्थको सम्मिश्रणबाट बनेको ठोस पदार्थ मूत्र प्रणालीमा बन्ने पत्थरी (स्टोन) हो । प्रायः पिसाबमा भएको पानीको मात्राले नै उक्त विकार पदार्थलाई पखालेर शरीरबाट बाहिर फाल्ने गर्छ ।

डा. अनिल शाह, कन्सल्टेन्ट युरोलोजिस्ट नेपाल मेडिसिटी वयोधा अस्पताल वीरगन्ज

तर, पिसाबमा पानीको मात्रा कम भएको वेला ती खनिज पदार्थ एकअर्कासँग टाँसिएर ढुंगा बन्ने प्रक्रिया सुरु हुन्छ । नेसनल किड्नी फाउन्डेसनका अनुसार प्रत्येक १० जनामध्ये एकमा मूत्र प्रणालीमा पत्थरी बन्न सक्ने सम्भावना हुन्छ । महिलाभन्दा पुरुषमा दुईगुणा बढीले यो समस्या देखा पर्छ । पुरुषमा प्रायः ३० वर्षको उमेरपछि देखा पर्छ । यद्यपि, यो जुनसुकै उमेरमा पनि हुन सक्छ ।

लक्षण
प्रायः सानो पत्थरीले कुनै प्रकारको लक्षण नदिन सक्छ र त्यो पिसाब गर्दा यत्तिकै बगेर जाने गर्छ । मध्यम तथा ठूलो साइजका पत्थरीले सामान्यतया दुःख दिन्छ ।
पेट दुख्नु (कोखा दुख्नु, तल्लो पेट दुख्नु), पिसाबमा रगत जानु, वाकवाकी लाग्नु, बान्ता हुनु (दुखाइले), कामज्वरो आउनु आदि पत्थरीका प्रमुख लक्षण हुन् ।

के खाने, के नखाने ?

- पत्थरीको मुख्य कारण पानी कम पिउनु हो । पिसाबमा पानीको मात्रा अत्यधिक भएको वेला पत्थरी बनाउने खनिज पदार्थ त्यसमा घोलिएर सजिलै पखालिन्छन् । सामान्यतया पिसाबको रङ हल्का पहेँलो हुनुपर्छ । कडा पहेँलो रङको पिसाब आउनुले शरीरमा पानी कम भएको संकेत गर्छ । पत्थरी बन्न नदिनका लागि कम्तीमा दैनिक दुईदेखि दुई दशमलव पाँच लिटर पिसाब फेर्न जरुरी हुन्छ । यसका लागि एक वयस्क व्यक्तिले दिनभरमा कम्तीमा दुई दशमलव पाँचदेखि तीन लिटर पानी पिउन आवश्यक छ ।

- धेरै प्रोटिन भएका र नुनिला खानेकुराको सेवन घटाउनुपर्छ । एउटा वयस्क मानिसको दैनिक आहारमा बढीमा २३ सय मिलिग्राम नुन हुनुपर्छ । यो सालाखाला एक चम्चाबराबर हो । सेकुवा, प्याकिङ गरिएका खानेकुरा, आलु चिप्स, क्यान जुस, चाउचाउ र विभिन्न किसिमका अचारमा अत्यधिक मात्रामा नुन पाइन्छ । त्यसैले यस्ता खानेकुरा सकभर कम खानुपर्छ ।

- अत्यधिक मोटोपनले यतिकै पनि मिर्गौलालाई तनावमा राख्ने गर्छ । यद्यपि, आफ्नो तौल सुरक्षित तरिकाले घटाउनुपर्छ । दैनिक आहारलाई एक्कासि नियन्त्रण गर्न खोज्नु हुँदैन । एकाएक कार्बोहाइड्रेटयुक्त खानेकुराको अत्यधिक कम सेवन र प्रोटिनयुक्त पदार्थको बढी सेवन गर्नुले मिर्गौलामा पत्थरी बनाउने प्रक्रियालाई बढावा दिन्छ ।

- सन् २०१४ मा अमेरिकामा गरिएको एक अनुसन्धानबाट मिर्गौलामा पाइने पत्थरीमध्ये क्याल्सियम अग्जालेट स्टोन सर्वाधिक मात्रामा (६७ प्रतिशत) पाइएको तथ्यांक छ । पालुंगो साग, सलगम, चकलेट, काजु, बदाम, चिया, आँटा, ऐँसेलु, अंगुर, आलु आदिमा अत्यधिक अग्जालेट पाइन्छ । यद्यपि, एकपटक मिर्गाैलामा पत्थरी देखा परिसकेका व्यक्तिले मात्र उल्लेखित खानेकुरा खानुहुँदैन । तर, स्वस्थ मानिसका लागि यी खानेकुरा दैनिक पोषणका स्रोत हुन् ।

- क्याल्सियमयुक्त खानेकुराको सेवन बढाउनुपर्छ । दूध र यसबाट बनेका परिकार, प्याकिङ गरिएका फलफूलका जुस, सोया सस, क्यान गरिएका माछा र केही गेडागुडी आदि क्याल्सियमयुक्त खानेकुरा हुन् । 

- अमेरिकामा सन् २०१४ मा गरिएको एक सर्वेक्षणले ६० प्रतिशत मिर्गाैलाको पत्थरी भएका बिरामीको रगत र पिसाबमा साइट्रिक एसिडको मात्रा कम भएको देखाएको थियो । तसर्थ, कागतीपानी, सुन्तला, आँप, खरबुजाको रस आदिजस्ता साइट्रिक एसिड पर्याप्त मात्रामा पाइने खानेकुरा सेवन गर्न आवश्यक छ ।

- अल्कोहल सेवन बन्द गर्नुपर्छ । मानिसलाई बियर पिउँदा पत्थरी बगेर जान्छ भन्ने भ्रम पनि छ । तर, बियर वा अन्य मदिराले पत्थरी बनाउने काम गर्छ । 

- समस्या देखिएमा मूत्ररोग विशेषज्ञ (युरोलोजिस्ट) सँग परामर्श गर्नुस् ।

See More On

सुझावित समाचार