बालककाे ज्यान गएको ४ महिनासम्म पत्ता लागेन दोषी

आइतबार, १४ जेठ, २०८०
डिजिटल संस्करण

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका- ६ भण्डारामा साढे २ वर्षीय बालक विनोद महताको दुर्घटनामा परी निधन भएको ४ महिना बितिसक्दा अझै दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालय नवलपुरअगाडि घेराउ गरेका छन्।

गत माघ १३ गते आफ्नै घरअगाडि खेलिरहेको अवस्थामा प्रदेश ३ ०१०२३ च ६९५८ नम्बरको कारले आफ्नो बच्चालाई ठक्कर दिई बालकको निधन भएको बालकका आमा मोतीकुमारी महतोले बताए।

पीडितका आफन्तले प्रहरीकोमा गाडी नम्बरसहित किटानी जाहेरी दिए पनि प्रहरीले गाडीलाई नियन्त्रणमा लिन आलटाल गरेको र दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै स्थानीयले आइतबार प्रहरी कार्यालय घेराउ गरेका हुन्।  

ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा सोही दिन मध्यबिन्दु जिल्ला अस्पतालमा मृत्यु भएको थियो। मृतकका ६ वर्षीया दिदी रूपा महतो रहेका छन् भने मृतकका बुवा कमल महतो ६ महिनादेखि मलेसियामा बैदेसिक रोजगारीको सिलसिलामा गएका छन्। 

प्रहरीले ७ दिनको म्याद मागेर आफूहरूले ७ दिनभित्र छानबिन गरी सक्ने जनाएका कारण तत्काललाई स्थानीय फर्किएका थिए। नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले आफूहरू घटनाको अनुसन्धानको नजिक पुगेको भन्दै केही दिनमा दोषीलाई पक्राउ गरी पीडितलाई न्याय दिने बताए।

सुझावित समाचार