सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान जारी छ : गृहमन्त्री

बिहिबार, ११ जेठ, २०८०
डिजिटल संस्करण
सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान जारी छ : गृहमन्त्री

फाइल तस्बिर

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताएका छन्।

बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए। उनले राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको बताए।

उनले देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए। भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताउँदै उनले देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पत्तित्र कमाउने काम सह्य नहुने दोहोर्याए।

राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको पनि बताए।

उनले भने, ‘देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ। कमिसनले पनि देशलाई जर्जर बनाएको छ। यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन। अहिले हाम्रो मिसन, सुशासन, अर्थात भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ। आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पती कमाउने काम सह्य हुँदैन। यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ। अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ। अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ। मैले नेपाल प्रहरीलाई निष्पक्ष रुपमा काम गर्न भनिसकेको छु। राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छु। कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन।’
 

सुझावित समाचार