सभामुखले कारबाहीको चेतावनी दिएपछि कपडा लगाएर बाहिरिए
सांसद अमरेशकुमार सिंहले कार्यव्यवस्था परामर्श समितिको सहमतिविपरीत संसद्मा अशोभनीय व्यवहार देखाएका छन् । सरकारले प्रस्तुत गरेको आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तावमाथिको छलफलमा केन्द्रित हुने भन्दै कार्यव्यवस्था समितिले सोमबार आकस्मिक र विशेष समय उपलब्ध नगराउने निर्णय गरेको थियो ।
जनमत पार्टीकी प्रमुख सचेतक अनिता देवीका अनुसार समसामयिक कुरा राख्न शून्य समय दिने र आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तावमाथिको छलफलमा केन्द्रित हुने सहमति कार्यव्यवस्थामा भएको थियो । त्यसविपरीत सांसद सिंहले प्रतिनिधिसभा बैठक प्रारम्भ हुँदै गर्दा आकस्मिक समय मागेर संसदीय मर्यादाविपरीत अशोभनीय व्यवहार देखाए । प्रारम्भमा बैठक कक्षको दायाँतर्फ प्रेम सुवाल, बीचमा अर्जुननरसिंह केसी र बायाँतर्फ सिंह उठेका थिए ।
आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग गरेपछि सभामुख देवराज घिमिरेले ‘आकस्मिक र विशेष समय नराखेको र नियमित कारबाही जाने भएकाले सहयोग गरिदिन’ भनेर कार्यव्यवस्थाको निर्णय जानकारी गराए । कांग्रेसका केसी आफ्नो सिटमा बसे । तर, सुवाल र सिंह अटेरी गरेर उठिरहे । सभामुख घिमिरेले नियमावलीलाई ख्याल गरेर बैठक सञ्चालन गर्न आग्रह गरे । अझै अटेरी गरेपछि सभामुख घिमिरेले नियमावलीको नियम २० (झ)को ‘बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने’ व्यवस्था स्मरण गराए । यतिले पनि सुवाल र सिंह नबसेपछि सभामुखले ‘अब नियमित कार्यलाई अगाडि बढाउन चाहन्छु, शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ, शून्य समयमा बोल्नलाई एक मिनेटको समय निर्धारण गरिएको छ, कारबाही अगाडि बढाउन बसिदिन अनुरोध गर्छु,’ भनेर आग्रह गरे ।
यतिवेलासम्म सांसद सिंहले कोर्ट उतारिसकेका थिए । फेरि सभामुखले ‘बैठकको मर्यादा कायम गर्न बसिदिन’ अनुरोध गरे । तर, उनले टाँक खोलेर सर्ट फुकाले र गन्जी पनि उतारे । क्षणभरमै अर्धनग्न भएर औँला ठड्याएर माइकविना बोल्न थाले । त्यसपछि सभामुख घिमिरेले संसदीय व्यवस्थाविपरीत व्यवहार देखाएको भन्दै चेतावनी दिए ।
सभामुख घिमिरेले नियमावलीको नियम ३० को ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्ने’ प्रावधान उल्लेख गर्दै ठीक ढंगबाट बस्न चेतावनी दिए । ‘तपाईलाई म चेतावनी दिन चाहन्छु, तपाईं यो अशिष्ट व्यवहारबाट फर्केर आएर बस्नुस्,’ सभामुखले भने ।
यतिले पनि नटेरेपछि सभामुख घिमिरेले सिंहलाई नियम ३१ बमोजिम बैठकबाट निष्कासनको आदेश दिनै लाग्दा संसद् सचिवालयका कर्मचारीले रोकेका थिए । घिमिरेले भने, ‘तपाईं शिष्ट व्यवहार देखाउनुस्, असभ्य व्यहार नगर्नुस्, तपाईंलाई चेतावनी दिन्छु, फर्किनुस्, सभ्यताका साथ आफ्नो कुराहरू नियमअनुसार राख्नुस् ।’
यतिवेलासम्म सबै दलका सांसद उठिसकेका थिए भने अशिष्ट व्यवहार देखाउने सिंहलाई बैठकबाट निष्कासन गर्न माग गरिरहेका थिए । त्यसपछि सिंहले फुकालेको सर्ट लगाउन थाले । सभामुख घिमिरेले यस्तो खालको व्यवहार नदेखाउन चेतावनी दिइसकेको भन्दै ठाउँमा आएर बसेर अनुशासित नभएमा थप अन्य कारबाही हुने जानकारी गराए ।
त्यसपछि सर्ट लगाएर सिंह बैठकबाट निस्केका थिए । सिंह निस्किएपछि सभामुख घिमिरेले बैठकलाई नियमित कार्यसूचीमा अघि बढाउँदै शून्य समय प्रारम्भ गरे । शून्य समयमा बोल्दै एमाले सांसद अच्युत मैनालीले संसद्मा अमर्यादित गतिविधि देखाउने सांसद सिंहको स्वास्थ्य जाँचको माग गरेका थिए । सांसद सिंहले भने आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्न सभामुखसँग पहिल्यै समय माग गरे पनि नदिएपछि अर्धनग्न हुन बाध्य भएको जिकिर गरे ।