बागमतीमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार नभए सरकार छाड्ने कांग्रेसको चेतावनी

बागमतीमा डेढ महिनादेखि मन्त्रिपरिषद् अपूरो

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले डेढ महिनादेखि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । उनले दोस्रोपटक विश्वासको मत लिएको ४५ दिन पुगेको छ । ११ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना मात्रै मन्त्री छन् । मुख्यमन्त्री जम्कट्टेलले थप पाँचवटा मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

माओवादीले पाएका चारवटा मन्त्रालय मुख्यमन्त्री जम्कट्टेल र दुईवटा मन्त्रालय कांग्रेसले सम्हाल्दै आएको छ । ११ सदस्यीय मन्त्रिपरिषद्मा अझै पनि पाँचवटा मन्त्रालय खाली छ । राष्ट्रपतिको निर्वाचनसँगै गत निर्वाचनकै समयको गठबन्धन ब्युँतिएपछि माओवादी नेता जम्कट्टेल नेतृत्वको सरकारबाट १३ फागुनमा राप्रपा र २० चैतमा एमाले सरकारबाट बाहिरिएको थियो । मुख्यमन्त्री जम्कट्टेलले १० चैतमा दोस्रोपटक विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै सरकारमा कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सहभागी हुने चर्चा चलेको थियो । तर, माओवादी र कांग्रेसबीच मन्त्रालयको भागबन्डाको विषयमा सहमति हुन नसक्दा अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन । एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सरकारमा सहभागी हुने कुरा अन्योल बनेको छ । कांग्रेसबाट बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा दुईजना मन्त्री सरकारमा सहभागी छन् ।

सरकार विस्तार हुन नसक्नुमा माओवादी र कांग्रेसले एकअर्कालाई आरोप लगाइरहेका छन् । कांग्रेसले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरूको नाम नपठाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको मुख्यमन्त्री जम्कट्टेलको दाबी छ । उनले कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउन नसक्दा समस्या भएको बताए । ‘हामीले कांग्रेसलाई पटकपटक मन्त्रीको नाम दिन भनेका छौँ, तर उहाँहरूले नाम दिनसक्नुभएको छैन,’ उनले भने, ‘साझा सरकार भएपछि सबैलाई मिलाएर लैजानुपर्ने बाध्यता छ । तर, कांग्रेसका साथीहरूले बढी मन्त्रालय माग्दा समस्या भयो ।’ कांग्रेसलाई पाँच मन्त्रालय दिन सकिने भए पनि ६ मन्त्रालय मागेको मुख्यमन्त्री जम्कट्टेलले बताए । एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएकाले कांग्रेसले गरिरहेको मन्त्रालयको संख्याको दाबी घटाउनुपर्ने उनको भनाइ छ ।

कांग्रेसले भने मुख्यमन्त्री जम्कट्टेल आफ्नो प्रतिबद्धताबाट पछि हट्दा समस्या भएको आरोप लगाएको छ । आर्थिक मामिलामन्त्रीसमेत रहेका कांग्रेस बागमती प्रदेश दलका नेता बहादुरसिंह लामाले सुरुमा मुख्यमन्त्री जम्कट्टेलले बोलेको कुरामा अडिग नहुँदा समस्या भएको दाबी गरे । उनले मुख्यमन्त्रीले सुरुमा कांग्रेसलाई ६ वटा मन्त्रालय दिने वचन दिए पनि अहिले आफ्नो प्रतिबद्धताबाट पछि हटेको आरोप लगाए । ‘मुख्यमन्त्री अहिले आफूले बोलेको कुराबाट पछि हट्नुभयो । सिट संख्याका आधारमा कांग्रेसले ६ वटा मन्त्रालय पाउने सहमति भएको थियो । तर, मुख्यमन्त्री अहिले आएर हुन्न भन्नुहुन्छ,’ नेता लामाले भने । उनले माओवादीसँग सुरुमा ६ सांसदबराबर एक मन्त्री पाउने गरी सहमति भएको पनि दाबी गरे । सोहीअनुरूप कांग्रेसले ६ वटा मन्त्रालय पाउनुपर्ने उनको भनाइ छ ।

नेता लामाले मुख्यमन्त्री जम्कट्टेलसमक्ष कांग्रेसको माग स्पष्ट रहेको जानकारी दिँदै सोमबारसम्म पूरा नभए सरकार छोड्न सक्नेसम्मको चेतावनी दिए । ‘हाम्रो बटमलाइन ६ मन्त्रालय हो । सिट संख्या र सुरुमा भएको सहमतिअनुसार हाम्रो माग जायज छ । मुख्यमन्त्रीलाई सहमतिका लागि सोमबारसम्मको समय दिएका छौँ । त्यतिन्जेल माग सम्बोधन भए ठीकै छ, नत्र हामी सरकारबाट बाहिरिन पनि सक्छौँ,’ उनले भने, ‘सहमति र सहकार्यलाई कसरी अगाडि बढाउने भन्ने कुरा नेतृत्वमा भरपर्छ । सरकारमा सहभागी दलहरूलाई मिलाएर लैजान मुख्यमन्त्रीले तत्परता देखाउनुपर्छ ।’ नेता लामाले भने । उनले एकीकृत समाजवादीले मानेन भनेर मुख्यमन्त्रीले सरकारलाई अधुरै राख्न नमिल्ने बताए । 

सत्तामा सहभागी मुख्य दलहरूबीच नै भागबन्डा नटुगिँदा गठबन्धनमा सामेल एकीकृत समाजवादी पनि सरकारमा गएको छैन । एकीकृत समाजवादीका सांसद कृष्णप्रसाद शर्माले गठबन्धनमा रहेका ठूला दलहरूमा रहेको अहंताले मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताए ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र समाजिक विकास मन्त्रालयमा माओवादीका मन्त्री छन् भने आर्थिक मामिला तथा योजना मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा कांग्रेसका मन्त्री छन् । वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय अझै पनि मन्त्रीविहीन छन् । ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलको काँधमा छ ।

सुझावित समाचार