अमेरिकी प्रकाशन गृह स्कोलास्टिकको किड्स एन्ड फेमिली रिडिङ रिपोर्टअनुसार ६–१७ वर्ष उमेरसमूहका बालबालिकामध्ये अधिकांशले आफूलाई रमाइलो खालका पुस्तक मनपर्ने बताएका थिए । उनीहरूमध्ये ७० प्रतिशतको जवाफ थियो, ‘हामीलाई जुन पुस्तकले हाँस्ने बनाउँछ, त्यही पुस्तक मन पर्छ ।’ ५४ प्रतिशतले आफ्नो कल्पना शक्ति प्रयोग गर्न सकिने पुस्तक पढ्न रुचि लाग्ने बताएका थिए । कविताले यस्तो गर्न सक्छ । यसले बालबालिकालाई हँसाउँछ ।
कविता पढ्ने बानीले बच्चाहरूमा सानैदेखि साहित्यिक गुण विकास गर्छ । संगीत भरिएका कविता र गीतले बच्चालाई रमाइलो महसुस गराउँछन् । यसले उनीहरूको स्मरण शक्ति बढाउने किड्स एन्ड फेमिली रिडिङको रिपोर्टमा उल्लेख छ ।
कविताले बच्चाहरूलाई शब्द र भाषासँग खेल्न उत्प्रेरित गर्छ । कविता पढ्दा उनीहरू नयाँ शब्द र नयाँ लयसँग परिचित हुन्छन् । र, उनीहरूले कविता लेख्न थाल्दा पनि नयाँ शब्द नै खोज्न थाल्छन् । यसले पठन संस्कृतिको विकास गर्छ । कविता पढ्दा नयाँ पाठकलाई हैरानी लाग्दैन, किनकि धेरै कविता छोटो र मिठो हुन्छन् । यसले बालबालिकालाई आफ्नो सोच, योजना र भावना अभिव्यक्त गर्न सिकाउँछ, अर्थात् सिर्जनशील बनाउँछ ।