उपनिर्वाचनको परिणामपछि पहिलोपटक आज रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै छ । सोमबार बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । ‘बैठकमा आइतबार भएको प्रधानमन्त्रीसँगको भेटवार्ताबारे पनि सभापतिले ब्रिफिङ गर्ने तयारी छ,’ अर्यालले भने ।
महामन्त्री ढकालका अनुसार बैठकमा सरकारमा जाने या समर्थन फिर्ता गर्ने विषयमा पनि छलफल हुनेछ । ‘सरकारलाई समर्थन फिर्ता गर्ने या सरकारमा जाने भन्ने विषयमा छलफलको सुरुवात हुन्छ, तर निर्णय गर्दैनाैँ,’ उनले भने । रास्वपाका अर्का एक नेताका अनुसार पार्टीभित्र सरकारमा जाने विषयमा हतार गर्न नहुने मत बढी छ । ‘एक महिना उपनिर्वाचनका लागि चितवनमै केन्द्रित हुनुपरेकाले सभापति केन्द्रको राजनीतिकबारे अपडेट हुनुहुन्न,’ ती नेताले भने, ‘हतारमा निर्णय नगरौँ, परिपक्व गरौँ भन्ने छ ।’
महामन्त्री ढकालका अनुसार सोमबार बैठकले संसदीय दलको नेता चयन गर्नेछ । १३ माघमा नागरिकता मुद्दाका कारण सर्वोच्च अदालतको फैसलाले एकसाथ लामिछानेको गृहमन्त्री, सांसद र पार्टी सभापति गुमेपछि उपसभापति डिपी अर्याल संसदीय दलको नेता बनेका थिए । १० वैशाखमा उपनिर्वाचनमार्फत लामिछाने पुनः सांसद निर्वाचित भएर आएपछि अर्यालले शनिबार दलको नेताबाट राजीनामा दिएका थिए ।
महामन्त्री ढकालका अनुसार राजीनामापश्चात् पार्टीको विधानबमोजिम पुनः दलको नेताको चयन प्रक्रिया सुरु भएको छ । आकांक्षीका रूपमा सभापति लामिछानेको मात्रै निवेदन परेका छ । आजको केन्द्रीय समितिको बैठकमा निर्णयपश्चात् बस्ने संसदीय दलको बैठकले त्यसलाई अनुमोदन गर्ने तयारी छ । चितवन २ बाट लामिछाने र तनहुँ १ मा स्वर्णिम वाग्ले निर्वाचित भएर आएसँगै अहिले रास्वपाका २१ सांसद छन् ।