नयाँ र मधेसकेन्द्रित दलको प्रारम्भिक टिप्पणी : पुराना दलसँग जनता थाकेको उपनिर्वाचनको सन्देश

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

उपनिर्वाचनको मतगणनाको प्रारम्भिक परिणामबाट आफूलाई वैकल्पिक दाबी गरिरहेका तथा गत मंसिरको निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएका दलहरू उत्साही देखिएका छन् । उनीहरूले उपनिर्वाचनको प्रारम्भिक मतपरिणामले पुराना दलसँग जनता थाकेको सन्देश दिएको र नयाँ शक्तिप्रतिको आशा सञ्चार गरेको प्रतिक्रिया दिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल उपनिर्वाचनको प्रारम्भिक मत रुझानले मतदाता परिवर्तनको पक्षमा रहेको सन्देश दिने बताउँछन् । ‘पुराना र ठूला भनिएका दलबाट जनता थाकिसके,’ उनले भने, ‘धेरै अघिदेखि यी दलहरूप्रति जनताको वितृष्ण फैलिरहेको थियो । तर, एउटै मुहानमा आउन ठाउँ पाइरहेको थिएन । रास्वपाको स्थापनापछि जनताको वितृष्णा हाम्रो मुहानमा आएर पोखिन सफल भएको छ । यो परिणामले डेलिभरी र सुशासनको एजेन्डालाई जनताले स्वीकृत गरेको संकेत दिएको छ ।’


प्रारम्भिक मतगणनाले थप जिम्मेवारीबोध गराएको छ : रवि लामिछाने रास्वपा सभापति

उत्साहित छु । खुसी लागेको छ । मैले विगतमा विजयी हुँदा दुर्गममा काम गर्छु भनेको थिएँ । केही काम सुरुवात भए । हामी नयाँ थियौँ । पार्टी नयाँ थियो । मतदाताले चिन्नुभएको पनि थिएन । यो मतले अझै बढी जिम्मेवारीको महसुस भएको छ । पहिलेभन्दा अझ राम्रो नतिजा आउँछ भन्ने अपेक्षा छ । 

विभिन्न क्षेत्रका विज्ञलाई उम्मेदवार बनाउनु पनि रास्वपाप्रति आकर्षणको कारण रहेको उनी बताउँछन् । ‘विभिन्न क्षेत्रका अब्बल, स्वच्छ छविका र विज्ञ व्यक्तिहरू हाम्रो पार्टीमा लागेका छन् । आफ्नो पेसामार्फत जनता सेवालाई दिएर उनीहरूमाझ भिजेका व्यक्तिलाई उम्मेदवार बनायौँ । जसकारण पनि हामीप्रति जनताको विश्वास र आशा देखिएको हो,’ उनले भने । 

रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि उपनिर्वाचनमार्फत पुनः उम्मेदवार बनेका उनले एकको बदला तीन सांसद लिएर कमब्याक गर्ने रास्वपाको रणनीति रहेको सार्वजनिक रूपमै बताएका थिए । तर, उपनिर्वाचनको प्रारम्भिक मतपरिणामले दुइ निर्वाचन क्षेत्रमा मात्रै अग्रता बढाएको देखिन्छ । ‘बारामा हाम्रो होमवर्क अलि पुग्न सकेन, यसमा समीक्षा गर्र्छौँ,’ महामन्त्री ढकालले भने । 

सिके राउत नेतृत्वको जनमत पार्टीकी प्रमुख सचेतक अनिता देवी ठूला दलप्रति रहेको जनताको ‘फ्रस्टेसन’ मंसिर निर्वाचन र अहिलेको उपनिर्वाचनमा पोखिएको बताउँछिन् । ‘यो उपनिर्वाचनले पुराना र ठूला दलहरूबाट जनता आजित भइसके भन्ने जवाफ दिएको छ,’ उनले भनिन्, ‘पुरानालाई पटकपटक मत दिएर के पायौँ भनेर जनताले आत्मसमीक्षा गरे । पटकपटक हेरेकालाई भन्दा नयाँलाई हेरौँ भन्ने मतदाताको मुड देखियो । नयाँले पनि गरेनन् भने भोलि उनीहरूलाई पनि हटाउँछन् ।’ बारा २ मा जसपाका अध्यक्ष यादवलाई हराउन जनमतका अध्यक्ष राउत स्वयं मैदानमा खटिएका थिए । 

जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमन उपनिर्वाचनको प्रारम्भिक मत रुझानले आमजनताको रोजाइमा वैकल्पिक पार्टीहरू देखिएको बताउँछन् । ‘कांग्रेस, माओवादी र एमालेभन्दा वैकल्पिक पार्टीहरू रोजेको देखियो,’ उनले भने, ‘बारा २ कै कुरा गर्दा त्यहाँ कांग्रेस र माओवादीले जसपालाई समर्थन गरे पनि एमालेले त गरेको थिएन । तैपनि एमाले प्रतिस्पर्धामा देखिएन ।’ सुमन जसपालाई बारामा र रास्वपालाई चितवन र तनहुँमा मत दिएर मतदाताले परम्परावादी पार्टीहरूलाई गतिलो सन्देश दिएको बताउँछन् । 

त्यस्तै, सत्तागठबन्धनमा रहेको लोसपाका नेता डा. सुरेन्द्र झा उपनिर्वाचनमा देखिएको जनताको वितृष्णा संघर्षबाट प्राप्त भएको व्यवस्थाको स्पिरिटअनुसार राजनीतिक दल हिँड्न नसक्नुको परिणाम ठान्छन् । ‘जुन संघर्ष गरेर हामीले बहुदलीय व्यवस्था ल्यायौँ, त्यसको स्पिरिटअनुसार पुराना र ठूला भनिएका राजनीतिक दलहरू अघि बढ्न सकेनन्,’ उनले भने, ‘एकदलीय प्रणालीजस्तो सिन्डिकेट गरेर जबर्जस्ती उम्मेदवार लाद्ने प्रवृत्ति रह्यो, जसलाई नागरिकले नरुचाएको देखियो । अर्को कुरा, जनतालाई मत माग्दा समाज रूपान्तरण र विकासको एजेन्डाभन्दा पनि जसरी हामीकहाँ जिताएर पठाइदिनुस्, म मन्त्री बनाइदिन्छु भन्ने आश्वासन देखियो, जनताले यसको पनि जवाफ दिए ।’ 

सुझावित समाचार