मतदाता परिचयपत्र नभएका र आफैँ छाप लगाउन नसक्नेले के गर्ने ?

शनिबार, ९ बैशाख, २०८०
डिजिटल संस्करण

चितवनसहित तनहुँ र बारामा भोलि उपनिर्वाचन हुँदै छ। निर्वाचन आयोगले सबै तयारी पूरा भएको जनाएको छ। आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।  

मतदाता परिचयपत्र नभए के हुन्छ ?

अघिल्ला निर्वाचनहरूमा जस्तै आयोगले योपटक पनि फोटो टाँसिएका सरकारी पहिचान खुल्ने कागजातका आधारमा मतदान गर्न सकिने व्यवस्था मिलाएको छ। निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका मत खसाल्न पाउनेछन्।
 
चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार मतदाता नामावलीमा नाम भएको तर मतदाता परिचयपत्र नभए पनि सो अवस्थामा नागरिकता वा अन्य सरकारी पहिचान खुल्ने कागजात जसमा फोटो टाँसिएको हुन्छ, त्यस्ता कागजात वा प्रमाण देखाएर मतदान गर्न सकिनेछ। 

मतदाता परिचयपत्रको विकल्पमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीसाधन अनुमति पत्र, राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइने उनले बताए।

मतदान अधिकृत वा कर्मचारीले मतदाताको परिचयपत्र हेरेर मतदातामा नाम भए वा नभएको जाँच गरेर मतदाता नामावलीमा लेखिएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत वा निजले खटाएको कर्मचारी विश्वस्त भएमा निजलाई मतपत्र प्राप्त हुने छ। 

आफैँ छाप लगाउन नसक्ने कसरी गर्ने मतदान ?

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले मतदाता आफैँले मतपत्रमा छाप हाल्न नसक्ने अवस्थामा भएका मतदाताले अरूको सहयोगमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन पहिचान गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मतसंकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भनेबमोजिमको निर्वाचनचिह्नमा मतसंकेत गर्नुपर्ने व्यवस्था छ।

आयोगले गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा असक्त वा अपांगता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिक वा पूर्वस्वीकृति लिएका व्यक्तिहरूले अनुमतिपत्र लिएर यात्रा गर्न सक्ने छुटसमेत दिएको छ। 

सुझावित समाचार